कैलाली- कैलाली प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट दुई लाख २७ हजार रुपैयाँभन्दा बढीको भन्सार छलीको अवैध सामान बरामद गरेको छ। प्रहरीले शनिवार बिहान १० बजे धनगढी उपमहानगरपालिका–३ चटकपुर पछाडि गल्लीमा भारतबाट भन्सार छली ल्याइएको ५७ हजार ६०० मूल्यको एक थान एसी बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको मोटरसाइकल प्रहरी गस्ती टोलीले आजै दिउँसो १२ बजे धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा नजिक भारतबाट भन्सार छली गरी ल्याएको ९ हजार मूल्यको सामान बरामद गरेको छ।
यस्तै आजै साढे १० बजेको समयमा कैलालीको भजनी नगरपालिका–५ स्थित हलुङ्गाघाट नजिकैको जङ्गलबाट संयुक्त प्रहरी गस्ती टोलीले से।४प।१४१२ नम्बरको मोटरसाइकल र १ लाख ६१ हजार ५० मूल्यको अवैध सामान पनि बरामद गरेको छ।
यसरी जम्मा दुई लाख २७ हजार ६ सय ५० मूल्य बराबरको भन्सार छलीको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बरामद गरिएका सामानहरूको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














