धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद गरेको छ । सोमबार प्रहरीले दुई जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा, वडा नं. ९ भैंसीघाट, गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक र टीकापुर नगरपालिका,५ शंकरपुर पेट्रोल पम्प नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु १ लाख १९ हजार ७१० बराबरको चिनी, मिठाई, सट, साडी, सुटपिस, लेहेङ्गा, ग्याँस, प्रेसर कुकर, प्लाष्टिक झिल्ली, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ गल्ली नं १, वडा नं. ९ कुम्डाणी, वडा नं. ११ भुजेला, वडा नं.१७ बासखेडा, दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर र पुनर्वास नगरपालिका–४ गुम्बाडाँडाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ३ लाख ९४ हजार ८१४ बराबरको चिनी, दाल, पेयपदार्थ, मोबिल, हेडसेट, साडी, टेन्टको कपडा, Led TV, धाराको टुटी, हार्डवेयर, कस्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।














