धनगढी । ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की, टीकापुर, भजनी लगायत स्थानमा अडिसन सञ्चालन गरिनेछ भने सुदूरपश्चिमका अन्य जिल्लाबाट समेत सहभागिता जनाउन सकिनेछ ।
प्रतियोगितामा नेपाली गीत–संगीतमा आधारित नृत्य प्रस्तुति अनिवार्य गरिएको छ । पुराना तथा नयाँ नेपाली गीत प्रयोग गर्न पाइने भए पनि आइटम गीत प्रयोग गर्न नपाइने नियम रहेको सञ्चालक बुढाथोकीले जानकारी दिए । सहभागीहरूले विभिन्न जातजाति तथा संस्कृतिमा आधारित पोशाक र प्रस्तुति दिन सक्नेछन् ।
अडिसन चरणमा सहभागीले १ देखि १।५ मिनेटसम्मको नृत्य प्रस्तुति दिनुपर्नेछ । त्यसपछि मेगा राउन्ड, कोरियोग्राफी राउन्ड, अतिरिक्त चरण हुँदै कुल ११ चरणमा प्रतियोगिता सञ्चालन गरिनेछ, जसमा सात चरण भोटिङ राउन्ड रहनेछ ।
कार्यक्रमका विभिन्न चरणमा फरक–फरक निर्णायकहरूको टोली रहनेछ । अडिसन चरणमा नयाँ पुस्ताका नृत्य प्रशिक्षक तथा कोरियोग्राफरहरूलाई अवसर दिइनेछ भने मेगा राउन्ड तथा अन्य चरणमा अनुभवी निर्णायक रहनेछन्। फाइनल निर्णायकको भूमिकामा कलाकार राहुल शाह रहने आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार रुपैयाँ, द्वितीयले ५५ हजार ५ सय ५५ रुपैयाँ र तृतीयले ३५ हजार ५ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । साथै विजेतालाई एक वर्ष निःशुल्क नृत्य प्रशिक्षण र भविष्यमा म्युजिक भिडियोमा अवसर दिने योजना समेत रहेको सञ्चालक बुढाथोकीले बताए ।
कार्यक्रम सञ्चालन तथा समग्र व्यवस्थापन रोयल डान्स स्टुडियोका संस्थापक तथा कोरियोग्राफर पर्लभ बुढाथोकीले गरेका थिए । उनले प्रतियोगिताको उद्देश्य युवालाई लागुऔषध तथा मोबाइल लतबाट टाढा राख्दै उनीहरूको प्रतिभा उजागर गर्नु रहेको बताए ।
जज सन्तोष अवस्थीले यस्ता कार्यक्रम प्रतिभा विकाससँगै सिकाइ र सांस्कृतिक प्रवर्द्धनका महत्त्वपूर्ण माध्यम भएको बताए । उनले यसअघि पनि रोयल डान्स स्टुडियोको आयोजनामा सम्पन्न घोडाघोडी नगर स्तरीय डान्स प्रतियोगितादेखि नै आफू जोडिँदै आएको उल्लेख गर्दै आयोजकप्रति आभार व्यक्त गरे ।
त्यस्तै, जज दिनेश बोहराले अहिलेका बालबालिकाले आफ्नो मौलिक प्रतिभा पहिचान गर्न आवश्यक रहेको बताउँदै यस्ता प्रतियोगिताले प्रतिभा पहिचान र विकासमा सहयोग गर्ने धारणा व्यक्त गरेका थिए ।
पत्रकार सम्मेलनमा हास्य कलाकार तथा सल्लाहकार दीपेन्द्र वलीले यस्ता कार्यक्रमले युवालाई मोबाइलको लत तथा लागुऔषधजस्ता कुलतबाट टाढा राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरेका थिए । प्रतियोगिताको अडिसन जेठ २३ गतेबाट सुरु हुनेछ ।













