धनगढी- कैलालीको गोदावरी नगरपालिकाले उद्यमी सिर्जना गर्न सीप विकास तालिम सञ्चालन गरेको छ । पालिकाले लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत सीप विकास तालिम सञ्चालन गरेको हो ।
पालिकाले चालु आवमा स्थानीय स्तरमा ७२ जना उद्यमी सिर्जना गर्ने लक्ष्य लिएको र सोही अनुसार वडा नं. ९ र १० मा निशुल्क सीप विकास तालिम सञ्चालन गरिएको नगरपालिकाका उद्यम विकास सहजकर्ता नरेश साउदले जानकारी दिए । उनले वडा नं. ९ मा १४ जना महिलालाई अचार बनाउने सात दिने तालिम र १० जना महिलालाई १० दिने दुना टपरी बनाउने तालिम दिइएको जानकारी दिए । त्यस्तै सञ्चालनमा रहेको ४५ दिने होजियारी तालिममा १३ जना महिला र तीन महिने हाउस वायरिङ तालिममा १० जना पुरुष सहभागी रहेकोे उनले बताए ।
त्यस्तै वडा नं. १० मा १४ जना महिलालाई सात दिने अचार बनाउने तालिम दिएको र सञ्चालनमा रहेको एक महिने झोला बनाउने तालिममा ११ जना महिला र ४५ दिने होजियारी तालिममा १५ जना महिला सहभागी रहेको सहजकर्ता साउदले जानकारी दिए ।
‘आठ दिने उद्यमशीलता विकास तालिम लिएकाहरुलाई उनीहरुको माग र व्यवसायिक योजनाका आधारमा विभिन्न सीपमूलक तालिम दिने गरिएको छ ।’ उनले भने, ‘पालिकामा रहेको उद्यमशील विकास समितिले वडा छनोट गर्छ । सोही अनुसार तालिम सञ्चालन गर्ने गरिएको छ ।’
पालिकाले नागरिकलाई स्वरोजगार बनाउने उदेश्यले विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको नगरप्रमुख वीरेन्द्र भट्टले बताए । उनले भने,‘सीममूलक तालीम दिएर नागरिकलाई स्वरोजगार बनाउने हाम्रो योजना हो । तालिम लिएपछि व्यवसाय गर्न चाहनेलाई सहयोग पुग्छ ।’













