धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलिका सामान बरामद गरेको छ । शुक्रबार दुई जिल्लाका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ राम जानकी मन्दिर, वडा नं.–३ ट्राफिक चौराहा र गोदावरी नगरपालिका–४ गोदावरी स्थित सडक किनारामा नजिक भारत बाट भन्सार छली ल्याएका रु.५ लाख ७२ हजार ६ सय बराबरको सुट मोजा, चस्मा, लेडिज सुट,जेसिबि कम्प्रेसर मेसिन, स्टिलको रेलिङ्गमा लगाउने फूल लगायतका सामानहरु बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेका जनाइएको छ ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय, बेलौरी नगरपालिका–१ फटैया र पुनर्वास नगरपालिका–११ अमरबस्तीबाट भारतबाट भन्सार छली गरी ल्याएका रु.१ लाख ७६ हजार ९८० बराबरको चामल, दाल, तेल, माईक्रोनी, चिनी, मिश्री, सुर्ती, बिंडी,युरिया, सर्फ,हाडबेयरका सामानहरु, साईकल तथा साईकलका पार्टपूर्जाहरु, गुड, ड्यू , किरानाका सामानहरु बरामद गरिएको जनाइएको छ ।













