धनगढी– कैलालीको अत्तरिया–धनगढी मोहनापुल ६ लेन सडकमा दुई वटा पुल अलपत्र परेको छ एउटा पुलको निर्माणको काम ३५ प्रतिशतमात्रै प्रगति भएको छ । सडक कालोपत्रे गरी अत्तरिया–धनगढी मोहनापुल ६ लेन सडक आयोजना कार्यालय खारेज भएको तीन वर्ष पुगे पनि पुलको काम अड्किएको छ ।
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको दक्षिणतिरको सुर्मी खेलाको पुल एक साइटमा अधुरो निर्माण भएको छ भने अर्को साइटमा बनाउन सुरु नै भएको छैन । सो सडक हेर्ने जिम्मेवारी पाएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका इन्जिनियर सन्तोष चन्दले निर्माण कम्पनी सम्पर्कविहीन भएको बताए । २०७९ कात्तिकमा निर्माण सम्पन्न गर्ने सर्त राजेन्द्र निर्माण सेवा २०७७ कात्तिकमा ठेक्का दिइएको थियो । तर सो निर्माण कम्पनीले अधुरो काम गरी सो पुलको योजना अलपत्र छोडेको छ ।
‘हामीले उहाँहरूलाई पटकपटक सम्पर्कमा आउन पत्र पठाएका छौं,’ इन्जिनियर चन्दले भने, ‘अन्ततः अब राजेन्द्र निर्माण सेवाको धरौटी झिकेर कारबाही गर्नुको विकल्प छैन ।’ दुई पटक म्याद थप गरी २०८० असार मसान्तसम्म म्याद दिइएको थियो । ‘तर पनि उहाँहरूले काम गर्नु भएन,’ उनले भने, ‘तेस्रो पटक म्याद थप भएन । पछिल्लो पटक उहाँहरू लापत्ता हुनुहुन्छ ।’
राजेन्द्र निर्माण सेवासँग ६ लेन सडकमा पुल बनाउन तीन करोड ५० लाखमा सम्झौता भएको थियो । गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको उत्तरतर्फको मनहरा खोलामा पुल निर्माणका लागि ठेक्का लगाइएको भए पनि डिजाइनमा परिवर्तन भएको निर्माण कार्य सुरु नै भएको छैन । परिवर्तन भएको डिजाइन सडक विभागबाट एक वर्षसम्म पनि स्वीकृत भएको छैन ।
‘झन्झटिलो प्रक्रियाका कारण परिवर्तन भएको डिजाइन स्वीकृत भएको छैन,’ इन्जिनियर चन्दले भने, ‘एक वर्षदेखि फाइलले चक्कर काटिरहेको छ । अहिले त्यो फाइल महानिर्देशककोमा पुगेको छ । केही दिनमै स्वीकृति हुन्छ भन्ने कुरा आएको छ । नयाँ डिजाइन स्वीकृत भयो भने एक हप्तामा निर्माण सुरु हुन्छ ।’ मनहरा खोलाको पुन निर्माणका लागि उच्चाकोटी, साधिन्देश्वर र शनिदेव जेभीलाई ६ करोड ८९ लाख दुई वर्षमा काम सक्ने गरी ठेक्का दिइएको छ । यसैगरी, त्रिनगर भन्सार नाका पर्ने मोहना खोलामा पुरानो पुलसँगै बन्न लागेको पुलको भौतिक प्रगति ३५ प्रतिशत भएको छ ।
२०७८ फागुनबाट निर्माण सुरु गरेको रायमाझी कन्स्ट्रक्सनले दिएको समयावधि सकिन लाग्दासमेत निर्माण कार्यलाई अगाडि बढाउन नसकेको हो । योजना कार्यालयले २०८० जेठसम्म निर्माण सम्पन्न गर्ने सर्तमा १३ करोड ३६ लाखमा ठेक्का सम्झौता भएको बताए । केही समय विवादका कारण रोकिएको पुल निर्माणमा अहिले पायल निर्माणको काम भइरहेको इन्जिनियर चन्दले बताए । सो पुलमा ४ पायरसहित ६ वटा फाउण्डेसन राखेर निर्माण हुँदैछ ।
सडकलाई कमनलेनबाट ६ लेनमा विस्तार गरिएको र पुरानो पुलको आयु सकिन लागेको हुनाले सो ठाउँमा नयाँ र चौडा पुल निर्माण गर्ने योजनाका साथ काम भइरहेको उनले बताए । निर्माणाधीन पुलहरू अलपत्र परेका कारण ६ लेन सडकमा बोटल नेक कायमै छ । जसले गर्दा तीव्रगतिमा आएका गाडीहरू एक्कासि साँघुरो सडकमा पुगेपछि दुर्घटनाको जोखिम छ भने ती पुल क्षेत्रमा गाडीको जाम पर्ने गरेको छ । ६ लेन पुल बन्नुअघि दुई लेनको सडक थियो भने पुल कमन लेनको बनाइएको थियो । कारोबारबाट













