धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्था परिसरको तीन सय मिटर वरिपरि निजी स्वास्थ्य व्यवसाय सञ्चालन गर्न नदिने कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई सख्त ताकेता गरेको छ ।
सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय, डोटीलाई पत्र पठाउँदै सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ कार्यान्वयन गर्न पुनः निर्देशन दिएको हो ।
ऐनको दफा २७ को उपदफा (१) मा सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्था परिसरको तीन सय मिटर वरिपरि दूरीभित्र निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङ होम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था छ ।
मन्त्रालयले यसअघि नै २०७९ पुस २१ गते स्वास्थ्य निर्देशनालयलाई पत्र पठाउँदै उक्त कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको थियो । सो पत्रसँगै ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९’ समेत पठाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका कानून अधिकृत दानबहादुर सुनारले हस्ताक्षर गरेको पत्रमा २०८३ असोज १३ गते मन्त्रीस्तरीय निर्णयअनुसार ऐन तथा स्थानान्तरण मापदण्ड तत्काल कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई ‘सख्त ताकेता’ गरिएको उल्लेख छ ।
मन्त्रालयले सरकारी स्वास्थ्य संस्थाको आसपासमा सञ्चालन भइरहेका निजी स्वास्थ्य संस्था तथा व्यवसायलाई कानुनी व्यवस्थाअनुसार व्यवस्थापन तथा स्थानान्तरण गर्न निर्देशनालयले आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने जनाएको छ ।

















