धनगढी । देशमा हालै आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि एरिस्टो इङ्ग्लिस हाई स्कुलले ३ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ।

विद्यालयका अनुसार सहयोग रकममध्ये विद्यार्थीहरूबाट स्वेच्छिक रूपमा संकलित ५४ हजार ९ सय २५ रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट १ लाख २५ हजार रुपैयाँ र विद्यालयका तर्फबाट १ लाख २१ हजार १ सय ८६ रुपैयाँ रहेको छ।
प्राकृतिक विपद्को दुःखद् घडीमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत रकम प्रदान गरिएको विद्यालयले जनाएको छ। साथै विद्यालयले विपद्को यस कठिन समयमा सम्पूर्ण देशवासीलाई एकजुट भई प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह गरेको छ।














