धनगढी । कैलालीमा पछिल्लो एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ परेका छन ।
चालू आवको असोज महिना जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार असोज महिनामा ४० जना पुरुष र एक महिला लागूऔषधसहित पक्राउ परेका छन । सो एक महिनाको अवधिमा लागूऔषधसम्बन्धी २२ वटा मुद्दा दर्ता भएका छन ।
पक्राउ परेकाहरुबाट लागूऔषध चरेश ६४ ग्राम,खैरो हेरोइन ४० ग्राम ५९० मिलिग्राम र गाँजा ४ ग्राम१८० मिलिग्राम बरामद गरिएको जनाइएको छ ।
त्यस्तै,सो अवधिमा १४५ लिटर घरेलु मदिरा र ७०० लिटर कच्चापदार्थ नियन्त्रणमा लिइ नष्ट गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाका अनुसार सो एक महिनामा विभिन्न प्रकृतिका अपराधसम्बन्धी १५८ मुद्दा दर्ता भएका छन् ।
सामाजिक अपराधका १८ वटा,संगठित तथा आर्थिक अपराधका २९,महिला तथा बालबालिका सम्बन्धी अपराधका १७,ज्यानसम्बन्धी २६,आत्महत्यासम्बन्धी २४,चोरीसम्बन्धीका १३,अन्य २३ र सवारी ज्यानसम्बन्धी ८ वटा मुद्दा दर्ता भएका उनले जानकारी दिए ।
त्यस्तै, जघन्य तथा गम्भीर अपराधतर्फ कतव्यज्यानका तीन,आर्थिक अपराधतर्फ बैंकिङ कसुरका १९,जुवाताससम्बन्धी तीन र ठगीसम्बन्धीका ८ वटा तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १७ वटा मुद्दा दर्ता भएका छन् ।
त्यस्तै,एक महिनामा चालू मुद्दाका १५९ जना पक्राउ गरिको र ३८ जना पक्राउ गर्न बाँकी रहेका प्रहरीले जनाएको छ ।
१४३ सवारी दुर्घटना,५ जनाको मृत्यु
जिल्लाका विभिन्न स्थानमा एक महिनामा भएका १४३ सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उक्त दुर्घटनामा २३५ जना घाइते भएका र दुर्घटनामा १९८ सवारीसाधन संलग्न रहेको प्रहरीले जनाएको छ ।
चालकका कारण १३५,सवारीसाधनका कारण २,यात्रुका कारण १ र चौपायाका कारण ५ वटा दुर्घटना भएको जनाइएको छ ।























