बझाङ । बझाङको बुङ्गल नगरपालिका-७ का वडाध्यक्षको भिरबाट लडेर मृत्यु भएको छ । खर काट्ने क्रममा भिरबाट लडेर वडाध्यक्ष ५० वर्षीय टंकप्रसाद जोशीको मृत्यु भएको हो।
बुङ्गल नगरपालिका-७ स्थित अठपाली गाउँमाथिको भिरमा खर काट्ने क्रममा लडेर चट्टानमा ठोक्किएपछि उनी गम्भीर घाइते भएका थिए।
उनका आफन्त रामचन्द्र जोशीका अनुसार घाइते जोशीलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि लैजाने तयारी गरिएको भए पनि उनको ज्यान गएको हो ।
जोशी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका थिए।
मृतक जोशीका दुई छोरा र एक छोरी छन्। वडा अध्यक्ष जोशीको निधनले बझाङमा शोक छाएको छ।























