धनगढी । कैलालीको धनगढीस्थित साहरा ट्रेनिङ इन्स्टिच्युटले होटल म्यानेजमेन्टसम्बन्धी विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । इन्स्टिच्युटले प्रोफेसनल कुक, जनरल कुक, चाइनिज क्युजिन, बाटेन्डर, बारिस्टा तथा बेकरीलगायतका छोटो अवधिका तालिममार्फत युवालाई सीपयुक्त बनाउँदै आएको हो ।
इन्स्टिच्युटले होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै सीप सिकेर स्वदेशमै स्वरोजगार बन्न र वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिरहेको जनाएको छ ।
इन्स्टिच्युटका कोअर्डिनेटर वसन्त जोशीका अनुसार शैलेश्वरी प्लस टुमा कक्षा ११ मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीका लागि साहरा ट्रेनिङ इन्स्टिच्युटको तर्फबाट बाटेन्डर, बारिस्टा र बेकरीलगायतका सीपमूलक तालिम निःशुल्क सञ्चालन भइरहेका छन् । यसका साथै अन्य इच्छुक व्यक्तिका लागि पनि विभिन्न सीपमूलक कार्ष उपलब्ध छन् ।
जोशीले तालिम लिन आउने विद्यार्थीलाई सीप सिकाउनेदेखि इन्टर्नसिपको व्यवस्था मिलाउने र रोजगारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्नेसम्मका काम इन्स्टिच्युटले गर्दै आएको बताए ।
‘कसैले सीप सिक्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ । यहाँ पढिसकेपछि इन्टर्नसिपको पनि व्यवस्था छ । इच्छाशक्ति देखाएर सीप सिक्नुभयो र नियमित कक्षामा आउनुभयो भने रोजगारीको अवसर प्राप्त गर्न सक्नुहुन्छ,’ उनले भने ।
उनका अनुसार इन्स्टिच्युटले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक अभ्यास, होटल अवलोकन भ्रमण तथा शैक्षिक भ्रमण गराउँदै आएको छ ।
उनले भने ‘हामीले विद्यार्थीलाई एउटा बाटो देखाइदिने हो । सीप सिकाउने, भ्रमण गराउने, सैद्धान्तिक कक्षा सञ्चालन गर्ने, इन्टर्नसिपको व्यवस्था मिलाउने र जागिरका लागि प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्नेलगायतका काम हामी गर्छौँ ।’
होटल म्यानेजमेन्ट प्रयोगात्मक विषय भएकाले इन्स्टिच्युटले ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक कक्षामा जोड दिएको उनले बताए । प्रयोगात्मक अभ्यासका लागि आवश्यक ल्याब तथा अन्य पूर्वाधार रहेको इन्स्टिच्युटले जनाएको छ ।
विद्यार्थीलाई होटल व्यवसायको वास्तविक अवस्था बुझाउन धनगढीका विभिन्न होटलमा स्थानीय अवलोकन भ्रमण गराउनुका साथै पाँचतारे होटलको अध्ययन भ्रमणका लागि धनगढीबाहिरसमेत लैजाने गरिएको जोशीले बताए । यसबाहेक छदेखि सात दिनसम्मको शैक्षिक भ्रमणसमेत आयोजना गरिने उनले जानकारी दिए ।
इन्स्टिच्युटबाट तालिम लिएका कतिपय विद्यार्थीले नेपालमै क्याफे सञ्चालन गरिरहेको र कतिपयले विदेशमा रोजगारी प्राप्त गरी राम्रो आम्दानी गरिरहेको उनको भनाइ छ ।
स्वदेशमै व्यवसाय सञ्चालन गर्ने, विदेशमा रोजगारी हासिल गर्ने वा विदेशमा कमाएको रकम नेपाल फर्केर लगानी गर्ने सोच भएका युवाका लागि होटल म्यानेजमेन्ट उपयोगी क्षेत्र हुन सक्ने उनले बताए ।

















