धनगढी । थारू कला, संस्कृति, भाषा, संगीत तथा स्थानीय प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘RK Tharu & Sanghaati-Dashain Cultural Fest 2083’ आयोजना हुने भएको छ।
मिटअस घोगी स्टेसन प्रालिको आयोजनामा हुने उत्सव कैलालीको धनगढी र बर्दियाको राजापुरमा सञ्चालन गरिनेछ ।
आयोजकले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उत्सवको पहिलो कार्यक्रम असोज ३१ गते धनगढीस्थित ओम प्यालेस र दोस्रो कार्यक्रम कात्तिक २ गते बर्दियाको राजापुरस्थित डायमण्ड होटल एण्ड पार्टी प्यालेसमा आयोजना गरिने जनाएको छ ।
दशैंको उल्लासलाई संगीत, संस्कृति र सामाजिक सेवासँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको उत्सवमा लोकप्रिय थारू गायक तथा गीतकार आरके थारू र Sanghaati Band को विशेष सांगीतिक प्रस्तुति रहनेछ ।
यस्तै, गायिका तथा मोडल अञ्जु कुश्मी (फूलकुमारी), लक्ष्मी राना, समीक्षा चौधरी, मोडल मधु चौधरी तथा होस्ट एवं गायक अनुप मगरलगायत कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
उत्सवमा लाइभ कन्सर्ट, सांस्कृतिक नृत्य, स्थानीय कलाकारका प्रस्तुति तथा डीजे कार्यक्रमसमेत समावेश गरिनेछ । कार्यक्रममार्फत थारू समुदायको मौलिक कला, संस्कृति, भाषा, परम्परा, खानपान र भेषभूषालाई नयाँ पुस्तामाझ परिचित गराउँदै स्थानीय प्रतिभालाई व्यावसायिक मञ्च प्रदान गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
आयोजकले सांस्कृतिक उत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यसहित रसुवाका बाढीपीडितलाई सहयोग गर्ने अभियानलाई प्राथमिकता दिएको जनाएको छ ।
मिटुस घोगी स्टेसन प्रालिका प्रतिनिधि टीकाराम चौधरीले थारू संस्कृति र आधुनिक संगीतबीच सेतुका रूपमा उत्सवलाई विकास गर्ने लक्ष्य रहेको बताए ।
आयोजकले स्थानीय व्यवसाय,राष्ट्रिय ब्रान्ड, प्रायोजक तथा सामाजिक अभियन्ताहरूलाई सहकार्यका लागि आह्वान गर्दै उत्सवको प्रचारप्रसार र सफल सञ्चालनमा सहयोग गर्नसमेत अनुरोध गरेको छ।















