धनगढी । डाक्टर बन्ने सपना थियो जनकराज जोशीको । तर, पारिवारिक र आर्थिक परिस्थितिका कारण उनको त्यो सपना पूरा हुन सकेन । डाक्टर बन्न नपाए पनि उनले स्वास्थ्य क्षेत्रमा केही गर्ने अठोट गरे । त्यही अठोटले उनलाई धनगढीमा कैलाली अस्पताल स्थापना गर्न प्रेरित गर्यो ।
आज जनकराजको अधुरो सपना उनका छोरा डा. विवेक जोशीले पूरा गरेका छन् ।
बुवाले स्थापना गरेको अस्पतालमा छोरा शल्यचिकित्सक बनेर बिरामीको उपचार गरिरहेका छन् ।

धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलस्थित कैलाली अस्पतालमा कार्यरत डा. विवेकले एक वर्षदेखि जनरल सर्जनका रूपमा सेवा दिइरहेका छन् ।
नेपाल मेडिकल कलेज, जोरपाटीबाट एमबीबीएस र चितवन मेडिकल कलेज, भरतपुरबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेका उनले आफ्नो चिकित्सकीय यात्रा आफ्नै ठाउँबाट सुरु गर्ने निर्णय गरे ।
‘बुवा पहिलेदेखि नै मेडिकल क्षेत्रमा हुनुहुन्थ्यो । उहाँले आफू डाक्टर बन्न नपाएको कुरा सधैँ सुनाउनुहुन्थ्यो । छोरालाई डाक्टर बनाउँछु भन्ने उहाँको चाहना थियो,’ विवेक भन्छन्, ‘बुवा र आमाकै प्रेरणा र प्रयासले आज आफ्नै ठाउँमा आफ्नै अस्पतालमा सर्जनका रूपमा सेवा गर्न पाएको छु ।’
विवेकलाई पनि सानैदेखि डाक्टर बन्ने इच्छा थियो । एमबीबीएस अध्ययनका क्रममा विभिन्न विभागमा काम गर्ने अवसर पाउँदा उनको रुचि न्युरो सर्जरीतर्फ बढ्यो ।
न्युरो सर्जरीका बिरामी र उपचार प्रक्रियाले उनलाई आकर्षित गरेपछि उनले शल्यचिकित्सा अध्ययन गर्ने निर्णय लिए ।
‘सर्जरी भनेको रोगलाई जरैबाट हटाउने प्रक्रिया हो जस्तो लाग्छ । शल्यक्रियापछि बिरामी निको भएर फर्किएको देख्दा छुट्टै सन्तुष्टि मिल्छ,’ उनी भन्छन् ।
चिकित्सा शिक्षा र अभ्यासको यात्रा भने सहज थिएन । अध्ययनसँगै अस्पतालमा ड्युटी गर्नुपर्ने, बिरामीको हेरचाह गर्नुपर्ने र निरन्तर अभ्यासमा जुट्नुपर्ने बाध्यता थियो । कहिलेकाहीँ लगातार घन्टौँ सम्म ड्युटी गर्नुपर्थ्यो । ठूला शल्यक्रिया गरिएका बिरामीको हेरचाहमा विशेष सतर्कता अपनाउनुपर्ने भएकाले जिम्मेवारी पनि उत्तिकै थियो ।
लामो संघर्षपछि अध्ययन पूरा गरेका विवेकका धेरै साथी विदेश पलायन भए । तर, उनले आफ्नै ठाउँमा फर्किएर सेवा गर्ने बाटो रोजे । बुवाको प्रेरणा र स्थानीय बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने चाहनाले उनलाई धनगढी फर्किन प्रेरित गर्यो ।
‘बुवा मेरा लागि प्रेरणाको स्रोत हुनुहुन्छ। सकेसम्म आफ्नै ठाउँका बिरामीलाई राम्रो उपचार र सेवा सुविधा दिनुपर्छ भन्नुहुन्थ्यो । त्यसैले पढाइ सकिनेबित्तिकै आफ्नै ठाउँमा काम गर्ने निर्णय गरेँ,’ उनी भन्छन् ।
कैलाली अस्पतालमा काम सुरु गरेको एक वर्षमा उनले ८ सयभन्दा बढी शल्यक्रिया गरिसकेका छन् ।
आन्द्रा फुटेको, आन्द्रामा प्वाल परेको र चोटका कारण आन्द्रामा क्षति पुगेका जटिल अवस्थादेखि एपेन्डिक्स, हर्निया र पित्तथैलीको पत्थरीलगायतका शल्यक्रिया उनले गरेका छन् । सामान्य प्रकृतिका अन्य शल्यक्रियासमेत गर्दै आएका छन् ।
उनका लागि शल्यक्रियाको सफलता र बिरामीको स्वास्थ्यमा आएको सुधार नै सबैभन्दा ठूलो सन्तुष्टि हो
। उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्दै आफ्नै ठाउँमा सेवा विस्तार गर्नु उनको प्राथमिकता छ ।
स्वास्थ्य उपचार महँगो हुँदै गएको अवस्थामा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सहुलियत दिनुपर्ने आवश्यकता पनि उनी महसुस गर्छन् ।
त्यसैले कतिपय बिरामीको शल्यक्रिया न्यून शुल्कमा गर्ने गरेको उनी बताउँछन् । औषधि किन्न नसक्ने बिरामीलाई अस्पताल प्रशासनले सहयोग गर्ने गरेको छ भने आफूले पनि कतिपयको शल्यक्रिया र बेड शुल्क नलिने गरेको उनको भनाइ छ ।
‘बिरामीको आर्थिक अवस्था कमजोर छ भने सकेसम्म कम खर्चमा उपचार गर्ने प्रयास गर्छौँ। बिरामीले राम्रो उपचार पाउनु नै हाम्रो प्राथमिकता हो,’ उनी भन्छन् ।
जनकराज जोशी लेअस्पताल स्थापना गरेर स्वास्थ्य सेवाको जग बसाले भने विवेकले त्यही जगमा उभिएर बिरामीको उपचार गरिरहेका छन् ।
विवेक अब आफ्नै ठाउँमा निरन्तर सेवा गर्दै स्थानीय बिरामीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन चाहन्छन् । उनका लागि बुवाको सपना पूरा गर्नु मात्र सफलता होइन, आफ्नै माटोमा बसेर बिरामीको पीडा कम गर्न सक्नु नै वास्तविक सन्तुष्टि हो ।














