धनगढी । धनगढी उपमहानगरपालिका–१७ र १६ जोड्ने तथा धनगढीका विभिन्न वडाबाट प्रमुख धार्मिक एवं पर्यटकीयस्थल बेहडाबाबा मन्दिर पुग्ने सडकअन्तर्गत पर्ने शिवगङ्गा नदीमा निर्माणाधीन पुल आठ वर्षदेखि अलपत्र परेको छ।
सडक डिभिजन कार्यालय, महेन्द्रनगरले करिब आठ वर्षअघि बोलपत्र आह्वान गरी ठेक्का प्रक्रियामार्फत पुल निर्माणको काम अघि बढाएको थियो। तर, लामो समय बितिसक्दा पनि पुल निर्माणमा प्रगति शुन्य हुँदा स्थानीय समस्यामा पर्ने गरेका छन्।
पुल निर्माण नहुँदा वर्षायामपछि हरेक वर्ष धनगढी उपमहानगरपालिकाले ह्युमपाइप राखेर अस्थायी सडक तथा पुल निर्माण गर्दै आएको छ। यसबाट स्थानीयवासी तथा बेहडाबाबा मन्दिर जाने श्रद्धालु र पर्यटकलाई आवागमनमा सहजता पुर्याउने प्रयास हुँदै आएको छ।
पुल निर्माणमा भइरहेको ढिलाइप्रति उपमहानगरपालिकाले पटक–पटक सडक डिभिजन कार्यालयलाई ताकेता पत्र पठाउँदै आएको जनाएको छ। निर्माण अघि बढ्न नसक्ने अवस्था भए ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउनसमेत आग्रह गरिए पनि हालसम्म स्थायी समाधान हुन सकेको छैन।
यस वर्ष पनि धनगढी उपमहानगरपालिका–१६ र बेहडाबाबा मन्दिर जाने सडकअन्तर्गत धनगढी–१७ स्थित शिवगङ्गा नदीमा ह्युमपाइप प्रयोग गरी अस्थायी पुल तथा सडक निर्माणको काम अघि बढाइएको छ। स्थायी पुल निर्माणमा ढिलाइ भइरहँदा हरेक वर्ष अस्थायी संरचना निर्माण गर्नुपर्ने बाध्यता दोहोरिँदै आएको छ।
स्थानीयवासीले वर्षौँदेखि अलपत्र रहेको पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्। स्थायी पुल निर्माण भए धनगढीका विभिन्न वडाका नागरिकसँगै बेहडाबाबा मन्दिर पुग्ने श्रद्धालु तथा पर्यटकलाई समेत वर्षभरि सहज आवागमन हुने अपेक्षा गरिएको छ।














