धनगढी । धनगढीमा घर तथा कार्यालयमै खाना र खाजा पुर्याउने उद्देश्यसहित ‘कान्छा दाइ’ होम डेलिभरी सेवा सञ्चालनमा आएको छ ।
‘कान्छा दाइ’ मोबाइल एपमार्फत ग्राहकले आफूलाई पायक पर्ने रेस्टुरेन्ट छनोट गरी विभिन्न परिकार अर्डर गर्न सक्नेछन् । अर्डर गरिएको खाना तथा खाजा ग्राहकले तोकेको स्थानमै पुर्याइने व्यवस्था गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका लागि ‘कान्छा दाइ’को फ्रेन्चाइजी लिएको मनुश्री मल्टीसर्भिस प्रालिले धनगढीबाट सेवा सुरु गरेको हो । सेवा प्रारम्भको अवसरमा कम्पनीले तीन दिनसम्म ग्राहकलाई २० प्रतिशत छुट र निःशुल्क डेलिभरीको सुविधा दिने जनाएको छ ।
मनुश्री मल्टीसर्भिस प्रालिका सञ्चालक दिनेश बोहराले व्यस्तताका कारण रेस्टुरेन्टसम्म पुग्न नसक्ने तथा घर वा कार्यस्थलमै खाना र खाजा मगाउन चाहने ग्राहकलाई लक्षित गरी सेवा सुरु गरिएको बताए ।
‘समय अभावका कारण रेस्टुरेन्टसम्म पुग्न नसक्ने ग्राहकलाई सहज रूपमा घर, कार्यालय वा कार्यस्थलमै खाना तथा खाजा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरेका हौँ,’ बोहराले भने, ‘धनगढीमा सेवा विस्तार गरेपछि महेन्द्रनगर र अत्तरियामा पनि सेवा पुर्याउने हाम्रो योजना छ ।’
कम्पनीले होम डेलिभरी सेवामार्फत ग्राहकलाई सहज सुविधा उपलब्ध गराउनुका साथै स्थानीय रेस्टुरेन्टलाई डिजिटल माध्यमबाट थप ग्राहकसम्म जोड्ने लक्ष्य लिएको जनाएको छ ।














