कैलाली ।धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको फूलखेती सम्बन्धी तालिम एक महिलाका लागि रोजगारी र आत्मनिर्भरताको आधार बनेको छ। धनगढी उपमहानगरपालिका ६ मट्यारीकी सुशिला बिष्टले तालिम लिएपछि व्यावसायिक फुलखेती सुरु गरी अहिले राम्रो आम्दानी गर्न सफल भएकी छन्। आर्थिक वर्ष २०८० जेठ २२ मा धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको फूलखेती तालिमकाे उपयोग गर्दै व्यवसायको रुपमा अघि बढाउने सोच आफूले बनाएको बिष्टले निशाना न्युजलाई जानकारी दिइन् । कामको खोजीमा रहेकी उनका लागि तालिमपछि व्यवसाय सुरु गर्ने अवसर जुर्यो। साथीभाइ र श्रीमानको सुझाव र सल्लाह अनुसार उनले धनगढी उपमहानगरपालिका ६ मट्यारीमै दुई बिघा जग्गा भाडामा लिएर फूल खेती सुरु गरिन्। सुरुवाती चरणमा साथीभाइसँग ऋण सापटी लिएर करिब ५ लाख रुपैयाँ लगानी बाट आर्थिक वर्ष २०८० जेठको अन्तिम सातातिर न्यूबन्डोली नर्सरी कन्सर्न सञ्चालन गरी फूल खेती सुरु गरेको बिष्टले बताइन् ।
सुरुमा पाँच लाख रुपैयाँ लगानी गरेर दुई बिघा जग्गामा फूलखेती सुरु गरेकी हुँ। अहिले व्यवसाय विस्तार हुँदै जाँदा वार्षिक करिब ५० लाख रुपैयाँसम्म लगानी हुने गरेको छ, उनले भनिन्।
बिष्टका अनुसार व्यवसायबाट वार्षिक करिब ५० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ। सबै खर्च कटाएर वार्षिक २० लाख रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ। जग्गाको वार्षिक भाडा १ लाख ५० हजार रुपैयाँ तिर्ने गरेको र सम्झौताअनुसार हरेक वर्ष ५ प्रतिशतका दरले भाडा बढ्ने गरेको उनले बताइन्।
फूलखेती तथा नर्सरीमा अहिले ११ जना कर्मचारीले नियमित काम गरिरहेका छन्। उत्पादन तथा कामको चाप बढेका बेला थप कामदारसमेत ल्याउने गरिएको छ। कर्मचारीको पारिश्रमिकमा मात्रै मासिक करिब १ लाख ८० हजार रुपैयाँ खर्च हुने गरेको बिष्टले बताइन्।
उनको फार्ममा सयपत्री, सनफ्लावर, गोदावरी, रजनीगन्धा लगायत विभिन्न प्रजातिका फूल उत्पादन हुने गरेका छन्। फूलका बेर्नासमेत उत्पादन गरी बिक्री गर्ने गरिएको छ।
फूलको मुख्य बजार धनगढी भए पनि मागअनुसार सुदूरपश्चिमका ९ वटै जिल्लामा फूल पठाउने गरिएको बिष्टले बताइन्। उत्पादन बढी भएको अवस्थामा काठमाडौंसम्म पनि फूल पठाउने गरेको उनको भनाइ छ। विभिन्न कार्यक्रम तथा समारोहका लागि फूल सजावटको कामसमेत गर्ने गरिएको उनले बताइन्।

फूलको माग राम्रो छ। मागअनुसार सुदूरपश्चिमका विभिन्न जिल्लामा पठाउने गरेका छौँ। उत्पादन बढी भए काठमाडौंसम्म पनि पठाउँछौँ, बिष्टले भनिन्।
फूलखेतीबाट हुने आम्दानीले उनको १० जनाको परिवारको खर्च धान्न सहयोग पुगेको छ। बालबालिकाको पढाइ–लेखाइदेखि घरायसी खर्चसम्म फुल व्यवसायबाटै व्यवस्थापन भइरहेको उनले बताइन्।
उनले फूलखेतीबाट आर्थिक अवस्था सुधार हुँदै गएको बताउँदै इच्छाशक्ति र मेहनत भए आफ्नै ठाउँमा पनि राम्रो व्यवसाय गर्न सकिने अनुभव सुनाइन्।
काम गर्न सक्यो र इच्छाशक्ति भयो भने आफ्नै भूमिमा पनि केही गर्न सकिँदो रहेछ। मेरो फूलखेतीको व्यवसाय सुरु गर्न प्रेरणा र अवसर जुटाइदिएकोमा धनगढी उपमहानगरपालिकालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु, बिष्टले भनिन्।
















