डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ स्थित जोराघाट माध्यमिक विद्यालयमा गौरा पर्वसम्बन्धी निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । तुल्छादेवी भीमविनाडी स्मृति अक्षय कोषको आयोजनामा कक्षा ९ र १० का विद्यार्थीबीच प्रतियोगिता गरिएको हो।
गौरा पर्वको इतिहास, धार्मिक तथा सांस्कृतिक महत्व र संरक्षण एवं प्रवर्धनका लागि विद्यालयमा निबन्ध प्रतियोगिता आयोजना गरिएको हो। स्वर्गीय आमाबुवाको सम्झनामा डा. बद्री शर्मा विनाडीले २०७६ सालमा स्थापना गरेको तुल्छादेवी भीमविनाडी स्मृति अक्षय कोषबाट हरेक वर्ष कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी गौरा पर्वसम्बन्धी निबन्ध प्रतियोगिता हुँदै आएको अक्षयकोष संस्थापक डा. बद्रीशर्मा विनाडीका भतिजा दिपक विनाडीले बताएका छन् ।
उनका अनुसार कोषबाट प्राप्त रकमबाट विजेता विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिँदै आएको छ । अक्षयकोष स्थापना भएयता हरेक वर्ष निबन्ध प्रतियोगिता गरिदै आएको दिपक विनाडीले बताएका छ्न । प्रतियोगितामा सहभागी विद्यार्थीमध्ये प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको उनले बताएका छ्न ।
उनका अनुसार प्रतियोगितामा निर्मला बिष्ट प्रथम, नरेश सिंह द्वितीय र दिनेश बम तृतीय भएका छन् । अक्षय कोषमार्फत विद्यार्थीको शैक्षिक ज्ञान वृद्धि गर्नुका साथै स्थानीय गौरा पर्वको इतिहास, महत्व र मौलिक परम्पराको संरक्षण तथा प्रवर्धनमा योगदान पु¥याउने उद्देश्यले हरेक वर्ष विभिन्न गतिविधि सञ्चालन गरिँदै आएको अक्षयकोषका सस्थापक डा. विनाडीले बताएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष दिप बम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन कामी, प्रधानाध्यापक लोकराज विनाडी, अक्षयकोषका संस्थापक डा. बद्रीशर्मा विनाडी,शिक्षक विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।














