धनगढी । नेपाली कांग्रेस कैलालीका सचिव तथा १५औँ महाधिवेशन प्रतिनिधि नृपबहादुर सुनारले नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
१५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. ५ बाट महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतसहित निर्वाचित भएपछि सुनारले उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन्। क्षेत्र नं. ५ को खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा सुनारले ३६४ मत प्राप्त गरी निर्वाचित भएका थिए। उम्मेदवारी घोषणा वक्तव्यमा सुनारले आफ्नो राजनीतिक यात्रा २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यका रूपमा सुरु भएको उल्लेख गरेका छन्। नेविसंघ, नेपाल तरुण दल हुँदै कांग्रेसको जिल्ला तथा प्रदेश तहमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएको उनले बताएका छन्।
१४औँ महाधिवेशनमा कैलाली कांग्रेसको जिल्ला कार्यसमितिको सचिवमा निर्वाचित भएको तथा त्यसअघि प्रशिक्षण र संगठनात्मक जिम्मेवारीमा काम गरेको अनुभवलाई उनले जिल्ला नेतृत्वका लागि आधारका रूपमा प्रस्तुत गरेका छन्। आन्दोलनका क्रममा गिरफ्तारी तथा जेल जीवनसमेत भोगेको उल्लेख गर्दै उनले कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने संस्था नभई लोकतन्त्र, नागरिक अधिकार र सामाजिक न्यायका लागि निरन्तर क्रियाशील संगठनका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
सुनारले कैलाली कांग्रेसलाई सक्रिय, समावेशी, व्यवस्थित र जनतासँग निरन्तर जोडिएको संगठन बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्। वडा तहदेखि जिल्ला तहसम्म संगठनको वास्तविक अवस्था पहिचान गरी स्थानीय आवश्यकता अनुसार कार्यक्रम तथा कार्ययोजना निर्माण गर्ने उनको भनाइ छ।
उनले पार्टी र जनताबीच निरन्तर संवाद स्थापित गर्ने, रोजगारी तथा उद्यमशीलता, शिक्षा–स्वास्थ्य, सीमा क्षेत्रका समस्या, नदी कटान, बाढी–डुबान तथा जलवायु परिवर्तनजन्य जोखिमजस्ता स्थानीय सवालमा कांग्रेसले स्पष्ट धारणा बनाउने बताएका छन्।
त्यस्तै, विगतमा कांग्रेससँग जोडिएका तर विभिन्न कारणले पार्टीबाट टाढिएका नागरिक तथा कार्यकर्तासँग पुनः संवाद गर्ने र पार्टीप्रति प्रश्न तथा आलोचना गर्ने नागरिकको आवाजलाई समेत सुन्ने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिएका छन्।
“पार्टी कार्यालयमा बसेर मात्र राजनीति हुँदैन, पार्टी र जनताबीच निरन्तर संवाद र जनसरोकारका विषयमा सक्रिय भूमिका आवश्यक छ,” सुनारको वक्तव्यमा उल्लेख छ।
जिल्ला सभापतिको जिम्मेवारी राजनीतिक तथा संगठनात्मक रूपमा महत्वपूर्ण भएकाले आफू त्यसको दायित्व र जिम्मेवारीबारे जानकार रहेको बताउँदै उनले जिल्ला नेतृत्वका लागि सबै नेता, कार्यकर्ता, शुभेच्छुक तथा कांग्रेसजनको सहयोगको अपेक्षा गरेका छन्।
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













