धनगढी। बजेट प्रस्तुतको कार्यसूची राख्दै आज बिहान ८ बजे बोलाइएको प्रदेशसभा बैठक फेरि सरेको छ। दिउँसो ४ बजे बस्ने गरि बैठक सारिएको सभामुख भीम भण्डारीले जानकारी दिए। जसका कारण बजेट सार्वजनिकको तयारी फेरि अनिश्चित भएको छ।
बजेटका विषयमा मन्त्रीहरुबीच नै विवाद भएपछि बजेट अनिश्चित बनेको हो। अर्थले लगभग तयार गरिसकेको बजेटमा सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टीका मन्त्रीहरू नै सन्तुष्ट छैनन्। उनीहरूले बजेट बाडफाडमा असन्तुष्टि जनाएका छन् । बजेटकै विषयमा अहिले मुख्यमन्त्री खगराज भट्टले बैठक बोलाएका छन्। बैठकपछि बजेट शून्यता कसरी अन्त्य गर्ने विषय टुंगो लाग्ने बताइएको छ।
प्रदेशसभाबाट बजेट सार्वजनिक गर्ने वा अध्यादेशमार्फत ल्याउने दुबै विषयमा छलफल भइरहेको बताइएको छ। प्रदेश सरकार तीन महिनादेखि बजेटविहीन छ। यसअघि सर्वोच्च अदालतको कारण देखाउ आदेशले बजेट प्रक्रिया रोकिएको बताइएको थियो।
तर, शुक्रबार बजेट विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्यो। अदालतको यो निर्णयसँगै प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको थियो।















