धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिका-६ मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछूतजन्य दुर्व्यवहार भएको भनिएको घटनाप्रति संयुक्त राजनीतिक दलित संघर्ष समिति सुदूरपश्चिम प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
समितिले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयमा अध्ययनरत ६५ विद्यार्थीमध्ये ५७ जना दलित र ८ जना गैरदलित रहेको अवस्थामा यही असोज ८ गते दलित विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र विक, पूर्व अध्यक्ष तथा सदस्यहरू, शिक्षिका बिना विक र कार्यालय सहयोगी लक्ष्मी दमाईमाथि जातीय आधारमा विभेद तथा छुवाछूतजन्य दुर्व्यवहार भएको आरोपबारे निष्पक्ष छानबिनको माग गरेको हो ।
विद्यालयजस्तो ज्ञान, समानता, अनुशासन र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने संस्थामा जातीय विभेदका घटना हुनु गम्भीर विषय भएको समितिले जनाएको छ । विद्यालय व्यवस्थापनमा दलित समुदायको प्रतिनिधित्वलाई लक्षित गरी अपमानजनक वा जातीय विभेद झल्काउने शब्द तथा व्यवहार प्रयोग भएको भए त्यसको समेत निष्पक्ष छानबिन हुनुपर्ने समितिको माग छ ।
समितिले घटनामा संलग्न रहेको भनिएका टेक राज उपाध्याय, भगवती रेग्मी र भगवती वडैलालगायत व्यक्तिमाथि कुनै राजनीतिक दबाब वा प्रभावबिना प्रमाणमा आधारित अनुसन्धान गर्न प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायसँग माग गरेको छ ।
अनुसन्धानका क्रममा पीडित तथा सम्बन्धित व्यक्तिको सुरक्षा सुनिश्चित गर्दै विद्यालयमा शान्तिपूर्ण, सुरक्षित र भेदभावरहित वातावरण कायम गर्न पनि समितिले आग्रह गरेको छ ।
जातीय छुवाछूत तथा विभेद सामाजिक न्याय र मानव मर्यादाविरुद्धको गम्भीर अपराध भएको उल्लेख गर्दै समितिले दोषी प्रमाणित हुने व्यक्तिलाई जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ लगायत प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । साथै पीडितलाई न्याय, संरक्षण र उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत समितिले आग्रह गरेको छ ।
घटनालाई समुदायबीच द्वन्द्व वा वैमनस्य बढाउने माध्यम नबनाई कानुनको शासन, समानता, सामाजिक न्याय र सद्भाव कायम गर्न सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न समितिले अपिल गरेको छ ।
विज्ञप्तिमा नेपाल दलित मोर्चाका प्रदेश संयोजक जगतबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सदस्य सुरेश विश्वकर्मा, नेपाल दलित सङ्घका प्रदेश अध्यक्ष टेकबहादुर रैका, कैलाली जिल्ला अध्यक्ष प्रेम विक, मुक्ति समाज नेपालका प्रदेश संयोजक भारमल सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सुरेश तोलाङ्गीले हस्ताक्षर गरेका छन् ।














