धनगढी । कैलालीको धनगढीमा चाङ्गन डीपलको नयाँ शोरूम सञ्चालनमा आएको छ ।
चाङ्गन अटोमोबाइलको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पअन्तर्गत धनगढीका लागि आधिकारिक डिलर ग्लोबल प्रालिले राजपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
शोरुमको आज एक कार्यक्रमका बीच प्रा.डा. हेमराज पन्तले उद्घाटन गरेका हुन् । कम्पनीले नयाँ विद्युतीय एसयूभी चाङ्गन नेभो क्यू०५ सार्वजनिक गरेको छ ।
शोरूम उद्घाटनका अवसरमा सार्वजनिक भएको नेभो क्यू ०५ को अल्ट्रा संस्करणको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेभो क्यू०५ सहरी तथा पारिवारिक यात्रालाई लक्षित गरी तयार पारिएको विद्युतीय खेलकुद उपयोगी गाडी हो । यसमा १२० किलोवाट क्षमताको विद्युतीय मोटर र ४८.८ किलोवाट घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ । एकपटक पूर्ण चार्ज गर्दा यसले एनईडीसी परीक्षण मापदण्डअनुसार ४६२ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।
कृष्णदेव उप्रेती र हितेश ओझाको नेतृत्वमा स्थापना भएको ग्लोबल प्रालिले धनगढी तथा आसपासका क्षेत्रका ग्राहकलाई विद्युतीय सवारीसाधनको बिक्री,परीक्षण सवारी र बिक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

















