धनगढी । झण्डै तीन महिनादेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेशमा बुधबार पनि बजेट आउन सकेन । बजेट प्रस्तुत गर्न बुधबार साँझ ५ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक बस्दै नबसी २४ गतेसम्मका लागि स्थगित भएको छ ।
सरकारको आग्रहमा प्रदेशसभा सचिवालयले बैठक स्थगित गरेको हो । बुधबार साँझको बैठकमा बजेट प्रस्तुत गर्ने तयारी भए पनि प्राविधिक विषय मिलाउन बाँकी रहेको भन्दै बैठक बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर, बिहीबार बिहान पनि बैठक नबसेपछि २४ गतेसम्मका लागि स्थगित गरिएको हो ।
अघिल्लो सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेपछि नयाँ बजेट ल्याउने सरकारको तयारी प्रभावित भएको हो । अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको उत्प्रेषणसम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई असोज २३ गते छलफलमा बोलाएको छ ।
रिटमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म अघिल्लो सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटबाहेक नयाँ बजेटको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश माग गरिएको उपाध्यायले बताए ।
सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएपछि नयाँ बजेट ल्याउने कि नल्याउने भन्नेमा सरकार अन्योलमा परेको एक मन्त्रीले बताए । यसअघि बुधबार नै बजेट ल्याउने सरकारको तयारी थियो । तर, बजेट स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि प्रदेशसभा बैठकसमेत स्थगित गरिएको हो ।
सरकारले पटक–पटक बजेट ल्याउने मिति तोक्दै आए पनि प्रक्रिया टुंग्याउन नसक्दा चालु आर्थिक वर्ष सुरु भएदेखि नै सुदूरपश्चिम प्रदेश बजेटविहीन छ । बजेट पारित हुन नसक्दा प्रदेशका नियमित विकास निर्माण तथा प्रशासनिक कामसमेत प्रभावित हुँदै आएका छन् ।















