काठमाडौं- पोखरामा आइतबार भएको यती एयरको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधनमा नेपाल पत्रकार महासंघले १३ दिनसम्म शोक मनाउने भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ३७ वर्षीय पौडेलको निधनप्रति महासंघले शोक व्यक्त गर्दै १३ दिनसम्म शोक मनाउने जनाएको हो । महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा पौडेलको निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध र शोकमग्न भएको उल्लेख छ गर्दै महासंघले १३ दिनसम्म शोक मनाउने बताए ।
अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको महासंघको आकस्मिक बैठकले पौडेलको निधनमा महासंघ केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ ।
जसअन्तर्गत भोलि २०७९ माघ २ गते सोमबार महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं भोलिदेखि नै १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको महासंघको २६ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । २०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा काम गरेका थिए ।














