लखनउ- भारतको लखनउमा जारी इन्टरनेशल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालको एसपीए कलेजले आज जिम्बाबेको टोलीसँग खेल्दैछ । जिम्बाबेको लेजेन्ड कम्बाइन्ड स्कुलसँग एसपीएको टोलीले साँझ ६ बजे पर्थ मैदानमा खेल्नेछ । उक्त खेल राति फ्लड लाइटमा हुनेछ ।
यसअघि पहिलो खेलमा एसपीएको टोली उत्तराखण्डको अमिनेटी पब्लिक स्कुलसँग एसपीए ११९ रनले पराजित भएको थियो । अघिल्लो चरण प्रवेश गर्न अब लिगमा बाँकी दुई खेलमा एसपीएले जित हात पार्नुपर्नेछ । त्यसका लागि आफूहरु तयार रहेको एसपीएका कप्तान आशिष लुहारले बताए ।
‘स्थानीय कन्डिसनसँग घुलमिल हुन नपाएको र नयाँ टिम भएकाले पनि पहिलो खेल सोचेअनुसार भएन । अब हामीसँग बाँकी दुई खेल जित्नैपर्ने अवस्था छ । हामी त्यसका लागि तयार छौं,’ कप्तान आशिषले भने ।
यता जिम्बाबेको टोलीले भने पहिलो खेल खेलमा कोलकत्ताको साउथ सिटी इन्टरनेशनल स्कुललाई ४२ रनले पराजित गरेको थियो । विश्वप्रशिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल, श्रीलंका, ओमान, जिम्बाबेसहित भारतका कोलकत्ता, दिल्ली, पटना, हैदरावाद, मध्यप्रदेश, पञ्जाबलगायत शहरका टोलीहरुले सहभागिता १६ टोलीको जनाएका छन् । लिगकम नकआउट फम्र्याटमा हुने लिग लखनउका तीन क्रिकेट ग्राउण्डमा भइरहेका छन् ।














