धनगढी– धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षसहित ५८ जनाले नेपाली काँग्रेसबाट सामूहिक राजीनामा दिएका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एकलौटी ढंगले टिकट वितरण भएको भन्दै वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष दिपक थापासहित ५८ जना नतो कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।
धनगढीमा बिहीबार पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षले विभेदपूर्ण व्यवहारबाट पीडित ईमान्दार, क्रियाशिल एवम् सक्रिय कार्यकर्ताहरुले पार्टीमा बसिरहनु उचित नरहेको भन्दै राजीनामा दिएको हो ।
२०७४ को चुनावमा बागी भई कार्वाहीमा परेको तर हालसम्म कार्वाही फुकुवा नभएको व्यक्तिलाई सिफारिस गरिएको भन्दै आफूसहितका व्यक्तिहरुलै राजीनामा दिएको वडाध्यक्ष थापाले बताए ।
टिकट वितरणका क्रममा वडा कार्यसमितिले आवश्यक नगरी मनोमानी ढंगले उम्मेदवार सिफारिसको काम गरेको उनको आरोप छ । ‘पार्टीमा मेरो भूमिका आवश्यक नदेखिएको हुनसक्ने महशुस गर्दै राजीनामा दिएको उनले बताए । नेपाली काँग्रेस वडानम्बर ४ पूर्व काँग्रेस वडा सभापति अनन्तराज जोशीले जीवनभर नेपाली काँग्रेस रहेको भएपनि आजबाट नेपाली काँग्रेस परित्याग गरेको बताएका छन् ।
‘वडानम्बर ४ बाट ११ जना अध्यक्ष पदका लागि तथा २२ जना सदस्य पदका लागि उम्मेदवारी दाबी गरिएको थियो,’ उनले भने, ‘कसैसंग पनि छलफल नगरी बडा कार्य समितिले ३ जना अध्यक्ष पदका आकांक्षीको नाम सिफारिस गर्यो ।’ वडाको टिकट दिने प्रक्रियामा भूगोल, क्षेत्र, योगदान मूल्यांकनै नगरी हस्तक्षेप भएको उनको भनाइ छ ।
एकलौटी ढंगले गरेको निर्णयले तथा पार्टीले गर्ने विभेदपूर्ण व्यवहारबाट पीडित पार्टीका ईमान्दार, क्रियाशील एवम् सक्रिय कार्यकर्ताहरुले मनोभावनामा आँच पुगेको उनले बताए ।
असन्तुष्ट समूहले आसन्न निर्वाचनमा स्वतन्त्र ढंगले मतदान गर्ने जनाएका छन् ।
वडा बाट ९९ जना असन्तुष्टहरुको हस्ताक्षर सहित जिल्ला सभापतिलाई बुझाउने उनीहरुले जनाएका छन् । काँग्रेस वडा नम्बर ४ बाट बुद्धि खड्कालाई उम्मेदवारी दिएको छ ।
उक्त पार्टीले कारवाही गरेको व्यक्तिको टिकट रोक्न ९९ जना क्रियाशील सदस्यहरुको हस्ताक्षरसहित जिल्ला कार्य समितिको ध्यानाकर्षण गर्दा पनि वेवास्ता गरिएको असन्तुष्ट पक्षहरुको भनाई छ ।
क्षेत्रीय कार्यसमितिले गरेको निर्णयमा टिकट दिने निकायले टिकट पाएका व्यक्तिहरुको नाममाथि समेत टिपेक्स लगाई आफू अनुकुलका अन्य सदस्यको नाम उल्लेख गरेको उनीहरुले आरोप लगाएका छन् ।













