धनगढी-धनगढी उपमहानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार नृपबहादुर वडले अहिलेको चुनावमा कसैसँग पनि प्रतिस्पर्धा नहुने बताएका छन् ।
‘हिजो नेपाली काँग्रेस एक्लै लड्दा पनि प्रतिस्पर्धा थिएन स्वतन्त्रसँग प्रतिस्पर्धा हुने सम्भावना भएन,’ उनले भने, ‘दलीय व्यवस्थामा मानिसले निर्दलको विश्वास गर्दैनन् ।’
अघिल्लो चुनावमा एक्लै चुनाव लड्दा विजयी भएको भन्दै उनले यसपटक गठबन्धनका सामू कोही प्रतिस्पर्धी नभएको बताए । ‘चुनाव जित्नेमा कुनै समस्या छैन्,’ उनले भने, ‘पाँच दलीय गठबन्धनका अगाडि कसको के चल्छ ।’
आफूले अगाडि बढाएका कतिपय योजनानहरु अपूर्ण भएकाले ती योजनाहरुलाई पूर्णता दिनका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
पाँच वर्षको कार्यकालमा तीन वर्ष कोरोना भाइरसका कारण काम गर्न नपाउँदा नपाउँदै पनि देशको उत्कृष्ट स्थानीय तह भई धनगढीले तीन वटा पुरस्कार पाएको उनले बताए । फेरि पनि चुनाव जितेर आएमा आफ्नो पहिलो काम धनगढीको ढल व्यवस्थापन हुने उनले बताए ।
ढल व्यवस्थापनका लागि एक अर्व ७२ करोड रुपैयाँको डिपीआर पनि तयार गरिसकेर भौतिक मन्त्रालयमा पेश भइसकेको उनको दाबी छ ।
साथै उनले गौरीफन्टा नाकाको स्तरोन्नति, धनगढी विमानस्थललाई व्यवस्थित गरेर प्रादेशीक एयरपोर्ट बनाउने र धनगढीलाई महानगरपालिका बनाउने अभियानमा बढी केन्द्रीत हुने बताए ।













