धनगढी– सुदूरपश्चिम प्रदेश सभामा प्रदेश संरचना खारेज गर्नुपर्ने माग उठेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खेमादेवी बिष्टले प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेकी हुन् ।
बैठकमा दलको तर्फबाट आफ्नो धारणा राख्ने क्रममा उनले भनिन्, ‘प्रदेश सरकारमा भ्रष्टाचार मात्रै मौलाइरहेको छ, जनताले पनि चाहेका छैनन् । जनता पनि प्रदेश संरचना खारेज गर्नुपर्छ भनेर रोडमा उत्रिरहेका छन् ।’
साथै उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत पनि दिन नसकिने जानकारी गराइन् । राप्रपाले यसअघि एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । सुदूरपश्चिम प्रदेश सभामा राप्रपाबाट बिष्ट एक मात्रै सांसद हुन् ।













