धनगढी । छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । बुधवार बेलुका धनगढी रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी गराएको हो ।
चैत ९ गते दिउँसो ३ बजे सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । क्लबका महासचिव प्रकाश शाहीले उद्घाटन खेल नेपाल एपीएफ क्लब र बागमती क्लबबिच बिहीबार दिउँसो साढे तीन बजे हुने बताए ।
प्रतियोगितामा ‘ए’ डिभिजन ६ टिम, दुई विदेशी टिम, मोसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
सुदूरपश्चिममा पर्वका रूपमा परिचित प्रतियोगिता २०७३ सालदेखि आयोजना हुँदै आएको छ । क्लबका अध्यक्ष सुरेश हमालले सुरुका खेल खेल्ने टिमहरू आइसकेको बताए । उनले सुदूरपश्चिममा आयोजना हुने एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले सबैले आफ्नो ठानेर सहयोग गरिदिन आग्रह गरे ।














