काठमाडौँ – यू १७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले भुटानमाथि प्रभावशाली जित हात पारेको छ । बंगलादेशको ढाकास्थित बीएसएसएस मुस्ताफा कमल स्टेडियममा बुधबार भएको खेलमा नेपालले भुटानलाई ५–० गोल अन्तरले पाखा लगाएको हो ।
नेपालको जितमा वर्षा ओली र सेनु परियारले २–२ गोल गर्दा दिपा रोकायाले एक गोल गरिन् । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । जितसँगै नेपालले २ खेलमा ३ अंक जोडेको छ ।
सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता रहेको छ । अब नेपालले तेस्रो खेलमा आइतबार रुससँग खेल्नेछ । यस्तै नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।














