धनगढी- नेपाली कांग्रेस कैलालीले जिल्ला सम्मेलन आगामी जेठ ५ गते कैलारी गाउँपालिकाकाको हसुलियामा गर्ने निर्णय गरेको छ । शुक्रबार कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित फलेबिसौनामा बसेको पार्टीको जिल्ला कार्यसमितिको १०औं बैठकले हसुलियामा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।
हुसुलियमा हुने जिल्ला सम्मेलन १४औं जिल्ला अधिवेसनबाट निर्वाचित कार्यसमितिको पहिलो सम्मेलन हुने कांग्रेस कैलाली जिल्ला कार्यसमितिका प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले बताए । जिल्ला सममेलन अघि कांग्रेसले वडा स्तरीय, पालिका स्तरीय, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्र स्तरीय सम्मेलन गर्ने उनले बताए ।
प्रचार–प्रसार विभाग प्रमुख भुषालका अनुसार वडा सम्मेलन वैशाख ५ गते देखि १० सम्म गर्ने, वैैशाख १२ गते देखि १५ गतेसम्म पालिका सम्मेलन गर्ने, १७ देखि २० गतेसम्म प्रदेश निर्वाचन क्षेत्र स्तरीय सम्मेलन गर्ने र २२ देखि २५ गतेसम्म संघीय निर्वाचन क्षेत्रको सम्मेलन गरिने छ ।
सम्मेलन अघि कांग्रेसबाट निर्वाचत स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गर्ने निर्णय भएको भुषालले बताए । सम्मेलन सम्पन्न गर्नका लागि नेपाली कांग्रेसले कैलाली जिल्ला उपसभापति खेमराज डगौरा थारुको संयोजकत्वमा समिति गठन गरेको छ ।
यसैगरी शुक्रबारको १०औं जिल्ला कमिटी बैठकले पार्टीको अहिलेसम्मका क्रियाकलाप समेटेर संगठानिक दस्तावेजीकरण पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ । सो दस्तावेजीकरण पुस्तक प्रकाशनका लागि कैलाली जिल्ला सचिव केशव मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ ।
बैठकले वैशाख ११ गते पर्ने लोकतन्त्र दिवस कैलालीका ५ वटै संघीय निर्वाचन क्षेत्रमा मनाउने निर्णय समेत गरेको प्रचार–प्रसार विभाग प्रमुख भुषालले बताए ।
उनका अनुसार धनगढी स्थित कांग्रेस कैलाली जिल्ला कार्यसमितिको कार्यालय र नेपाल पत्रकार महासंघ कैलाली शाखा कार्यालयको बीचमा रहेको खाली जग्गामा विपि स्मृत बगैचा पुस्तकालय निर्माण गर्ने निर्णय समेत गरेको छ ।














