धनगढी- नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिएसंगै देश दौडाहामा निस्केका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले शुक्रबार गण्डकी प्रदेशका उद्योगी व्यवसायीसंग भेटघाट गरेका छन् ।
जिल्ला र नगरको (खुल्ला तर्फ) बाट महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा उम्मेदवारी घोषणा गरेपछि अध्यक्ष द्वय कुँवर र जोशी देशभरका उद्योगी व्यवसायीलाई भेटघाट गरिरहेका हुन् । उनीहरुले गण्डकी प्रदेशका पोखरा, तनहुँ , लमजुङ र गोरखा उद्योग वाणिज्य संघका अध्यक्षहरूलाई भेटे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष प्रविन्दकुमार श्रेष्ठ, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल र गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठलाई भेट्दै कुँवर र जोशीले महासंघको चुनावमा सहयोग गर्न आग्रह गरेका हुन्।
उद्योगी व्यवसायीसंग भेट गर्दै कुँवर जोशीले प्रदेशका उद्योगी व्यवसायीसंग भेटघाट गर्दै महासंघको चुनावमा सहयोग गर्न आग्रह गरेका छन् ।
यही १५ गते धनगढीबाट चुनावी अभियान सुरू गरेका कुँवर र जोशीले यसअघि कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा पुगेर त्यहाँका विभिन्न जिल्ला र प्रदेशका अध्यक्षसहित उद्योगी व्यवसायीहरुसंग भेटघाट गरेका हुन् । त्यसक्रममा उनीहरूले चुनावमा जीतको अग्रीम शुभकामना दिँदै आफूहरूको साथ सहयोग रहने प्रतिबद्वता जनाएका छन् ।
टोलीमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीलगायत छन् । महासंघको ५७ औँ चुनावी साधारण सभा यही चैत्र २८ र २९ गते हुँदैछ ।
























