वि.सं.२०७९ साल चैत्र २८ गते जिल्ला अस्पताल अछामको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भइसकेपछि अस्पतालको स्तरोन्नती,जनताको स्वास्थ्य सेवाको पहुँचलाई सहज, सरल बनाउन अहोरात्र खटिरहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिव बोगटीसँग निशाना न्यूजका लागि गरिएको कुराकानीको सम्पादित अंश :
१) जिल्ला अस्पताल अछामको विकासका लागि यहाँले कस्तो योजना बनाउनु भएको छ ?
पहाडी क्षेत्रको दुर्गम क्षेत्रमा संचालित जिल्ला अस्पताल अछाम प्रादेशिक अस्पतालको रुपमा पनि संचालित छ । हामीसँग यस्को स्तरोन्नतीका लागि थुप्रै योजनाहरु छन । भिज्योल प्रोफाईल देखी लिएर गुरुयोजना सम्म बनाएका छौँ । तत्कालिन अवस्थामा पुरानो जीर्ण भवनमा सेवा दिइरहेका छौँ । यस्को विकास र स्तरोन्नतीका लागि प्रदेश सरकारको सिफारिसमा संघ सरकारले गत बर्ष पाँच करोड र यो वर्ष पनि पाँच करोड गरी १० करोड बिनियोजित भएको छ । निकट भविष्यमा कार्यान्वयन हुन्छ टेन्डर भएर मुल्यांकनको प्रकृयाको चरणमा छ ।
दोस्रो कुरा अस्पतालको नागरिकको स्वास्थ्य सम्बन्धि सेवामा जिल्ला अस्पताल अछाम निकै सम्बेदनशील छ । यद्धपी विभिन्न वाध्यताका बाबजुत हामीसँग भएको जनशक्तिसँग भएको इच्छाशक्तिका कारण यो अस्पतालमा आउने सेवाग्राहीहरुले एकदमै सन्तोषजनक सेवा सुविधा पाइरहेका छन् । हामीसँग विशेषज्ञ सेवा पनि छ । तत्काल एकजना एमडिजीपी बिशेषज्ञ हुनुहुन्छ यो भन्दा पहिले थिएन् । विगत लामो समयदेखि एम्बुलेन्स थिएन् अहिले हाम्रै पहलमा एम्बुलेन्स ल्यायौँ । ब्लड टेष्टका लागि मेरै पहलमा ब्लड टेष्ट गर्ने किल्या मेसिन किनेका छौँ जहाँ दुई सयवटा ब्लडका नमुना एकैपटक टेष्ट गर्न सकिन्छ । कोभिड कालदेखि अक्सिजनका थुपै समस्या थिए । अहिले हामीसँग दैनिक ५ देखि ७ सम्म सिलिन्डर भर्ने अक्सिजन प्लान्टहरु रन छ । एमसीएचको छुट्टै निर्माण हुँदै छ । समग्रमा भन्दाखेरी जिल्ला अस्पताल अछाम अहिले यहाँका नागरिकहरुको स्वास्थ्यमा एकदम सम्बेदनशील छ । संरचना निर्माण भएपछि निकट भविष्यमा सुदूरपश्चिम भरीकै नमुना जिल्ला अस्पताल बनाउने सोचमा छौँ ।
२.तपाइ आइसके पछि अछामको दुई नम्बरका क्षेत्रका नागरिकलाई तत्काल दिएको नयाँ सेवा के छ ?
तत्कालको सेवा भन्नाले पहिले माइनर अप्रेशन हुदैनथ्यो हामीले अहिले माइनर अप्रेशन सेवा एपेन्डीसाइड,हनिृयाहरुको अप्रेशन सुरु गरेका छौँ । योभन्दा अगाडि एम्बुलेन्स नहुँदा कतिपय गर्भवतीहरु बाटो मै सुत्केरी हुने,कतिपय बिरामीहरु अकालमै मृत्यु बरण हुने थियो । अहिले हामीसँग एम्बुलेन्स खडा छ,चौविसै घण्टा एम्बुलेन्स सेवा सञ्चालन छ । निकट भविष्यामा यस्ता सेवाहरु त विस्तार गर्दै जान्छौँ । नागरिकका लागि यो पूर्ण सेवा चाहिँ होइन् । अर्थोपेडिक ल्याएर हाडजोर्नीका अप्रशेन गर्ने,बालरोग विशेषज्ञ ल्याएर बाल मृत्युदरलाई पनि घटाउने,साइकेटिकको समस्या छ,अछाममा आत्महत्याको बिकराल समस्या छ ।आगामी दिनमा विशेषज्ञ सेवामा साइकेटिपलाई जसरी पनि अछाम जिल्लामा ल्याएर आत्माहत्या न्यनिकरणका लागि महत्वपूर्ण पहल गर्ने छौँ । क्षेत्र नं. २ मा ५ वटा स्थानीय तह छन् । आर्थिकरुपमा अस्पताललाई कुनै पनि लागानी गरेको देखिदैन । यद्धपी मंगलसेन नगरपालिकाले गत वर्ष पाँच लाख लगानी गरेको छ । चालु आवमा पनि पाँच लाख विनियोजित गरेको छ भन्ने सुन्नमा आएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अहिले यहाँका समस्याका बारेमा चासो देखाएको छ,चाहिने बजेटका लागि सहयोगको प्रतिबद्धता भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय र संघको स्वास्थ्य मन्त्रालयलाई यो अस्पताल अछामबासीको एकमात्र केन्द्र भएका कारण यो दुर दराजको अस्पताललाई बिशेष ध्यान दिन पनि अनुरोध गर्न चाहान्छु । सबै जिल्ला अस्पतालमा संरचना बनिसेका छन् यो मात्रै छुट्न गएको छ ।
३. ५० शैय्याको अस्पताल बनाउने भन्ने थियो किन भएन ?
समग्रमा राज्यको नीति चाहिँ सबै जिल्ला अस्पतालहरुलाई ५० शैय्यामा स्तरोन्ती गर्ने भन्ने हो । ०७५ सालमा सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदले निर्णय गरेको हो । त्यो सिफारिसको क्रममा अछाम जिल्ला अस्पतालमा ५० शैय्याको स्तरोन्नती गर्न भौतिक संरचना छुट्न गएको हुँदा सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्बाट फेरि निर्णय गरायौँ । कोभिडका कारण र अर्थतन्त्रको बिकराल अवस्थाका कारण छुट्न गयो । पछि टेन्डर ग¥यौँ पाँच करोडको विनियोजित भयो । संघ सरकारले रकम सुनियोजिता नभएका जिल्ला अस्पतालहरुलाई टेन्डर नगर भनेर अर्थ मन्त्रालयले विभागलाई परिपत्र ग¥यो । त्यसपछि हाम्रो अस्पतालको संरचना ओझेलमा प¥यो । अहिले अर्थ मन्त्रालयले चिठी बनाएर रकम सुनिश्चितता गरिसकेको छ । टेन्डर प्रकृया मुल्यांकनको चरणमा छ निकट भविष्यमा सम्झौता भएर काम अघि बढ्छ । प्रदेश सरकारले २५ शैय्या भन्छ हामीले यहाँ १५ शैय्यामा ५० शैय्या चलाइरहेका छौँ हामीले प्रदेश सरकारलाई कम्तीमा ३५ शैय्याको स्विकृतिका लागि आग्रह गरेछौँ ।
४. जिल्ला बाहिर उपचार गर्न जानुपर्ने अवस्था छ कि छैन ?
जिल्ला बाहिर उपचार गर्न जानु नपर्ने अवस्था छ भनेर दावाका साथ भन्न सक्दैन् । हिजो माइनर अप्रेशनका लागि धनगढी,नेपालगञ्ज जानु पर्ने अवस्थाको अहिले अलि अन्त्य भएको छ । सबै अप्रेशन यहीँ गर्न सक्छौँ सबै जनशक्ति हामीसँग छ भन्न सक्दैनौँ । २०३७ सालको लोकसेवाको जनशक्तिले अस्पताल चलाइरहेका छौँ । त्यो जनशक्तिले आजको सेवा त दिन सक्दैन । यद्धपी हामी के भन्न सक्छौँ भने हिजो भन्दा आज केही न केही परिवर्तन भएको छ । यहाँका सबै राजनीतिक दल जनप्रतिनिधी लगायत सबैको साथ सहयोग रहेमा निकट भविष्यमा पूर्णरुपमा बाहिर उपचारका लागि जाने निस्तेज गर्छौँ त भन्न सक्दैनौँ एउटा प्लान बनाएका छौँ । त्यो मुताविक चल्यौँ भने यो एक डेढ वर्ष भित्र चाहिँ ५० देखि ७५ प्रतिशत औषधि उपचार गर्ने वातावरण अछाममै बनाउन सक्छौँ ।
५.अन्त्यमा केही भन्नु हुन्छ ?
अछाम जिल्ला अस्पतालको मुहार फेर्न निरन्तर तीनै तहका सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढेर यो अस्पतालको भौतिक संरचना निर्माण,गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका साथै अछाम अस्पतालमा नागरिकलाई विशेषज्ञ सेवाको उपलब्धताका लागि डटिरहने छु ।













