सव डिभिजन वन कार्यालय मसुरियाले वन र खोलानाला संरक्षणमा गरिरहेका कार्य, सामुदायिक वनहरुसँगको सहकार्यलगायत विषयमा सव डिभिजन वन कार्यालय प्रमुख भरतप्रसाद साहसँग निशाना न्यूजले गरेको कुराकानी:
सव डिभिजन वन कार्यालय मसुरियाले कुन क्षेत्रमा काम गरिरहेको छ ?
यो कार्यालयअन्तर्गत रहेका सामुदायिक वन, साझेदारी वनमा काम गरिरहेको छ । जस्तै : वनमा हुने चोरीतस्करी नियन्त्रण गर्नका साथै वन संरक्षणका पाटाहरुलाई पनि केलाएर नियन्त्रणका उपायहरु खोजेर काम गरिरहेका छौँ । वनजंगल संरक्षणका लागि उपभोक्ताहरुलाई सचेतना गराएर अगाडि बढेका छौँ । अवैधरुपमा ढुंगागिटी उत्खलन गर्नबाट रोकेका छौँ । चुरे संरक्षणमा पनि महत्वपूर्ण काम गर्दै आएका छौँ । वन अतिक्रमण नियन्त्रण गर्ने, अवैध उत्खलन नियन्त्रण गर्ने काम गरिरहेका छौँ ।
ढुंगागिट्टी, वनजंगल, डढेलो, चोरी पैठारी नियन्त्रणमा कत्तिको उपलब्धी भएको छ ?
वनजंगल संरक्षण भएको महसुस गरेका छाँै । ढुंगागिट्टी बालुवाको सन्दर्भमा गौरीगंगा नगरपालिकाले अहिलेसम्म खोलानालामा ठेक्का लगाएको छैन । त्यसैले ढु्ङ्गागिट्टीको उत्खलन भइसकेको छैन । नगरपालिकाले आइइ गरेर ठेक्का लगाउने गर्दै आए पनि अनुगमनको काम फितलो भयो । तलमाथि गर्नसक्ने सम्भावना भएका कारण त्यसलाई पनि हामी अनुगमन गरेर नियन्त्रण गर्दै आएका छौँ । अन्य कुराहरुमा डढेलो, चोरीपैठारीका विषयमा सबै सामुदायिक वनका पदाधिकारीहरुलाई जानकारी गराएर अनुगमनमा गएर रोकथामको प्रकृया प्रभावकारी रुपमा अगाडि बढाउँदै आएका छौँ ।
नर्सरीका लागि विरुवा उत्पादन हुन्छ की हुँदैन ?
हामीले विरुवा उत्पादन गर्दै आएका छौँ । गत वर्षमात्र हामीले ३३ हजार विरुवा उत्पादन गरेका थियौँ । हामीसँग अझै सतीसालका छ हजार विरुवा हाम्रो नर्सरीमा बाँकी छन् । यसलाई प्रदर्शनिका लागि राख्ने गरेका छौँ । यस क्षेत्रका सामुदायिक, निजि वनहरुलाई विरुवा वितरण गर्दै आएका छौँ । उत्पादन भएका विरुवा निःशुल्क वितरण गर्नुका साथै प्राविधिक सल्लाह पनि दिने गरेका छौँ ।
अन्त्यमा के भन्नु हुन्छ ?
आर्थिक वर्ष भर्खर सुरुवात भएको छ । संरक्षणको काम निरन्तर भइराखेकै हुन्छ । जनचेतना अभिवृद्धिका कामहरु अगाडि बढाउने लक्ष्य छ । गौरीगंगा साझेदारी वनको विधान भर्खर स्वीकृत भएर आएको छ । कार्यसमिति बनाउने चरणमा छौँ । त्यसपछि सहकार्यको चरण सुरु हुन्छ । कान्द्रादेखि गौरीगंगा नदीसम्म फायर लाइन निर्माण गर्ने, घाटगद्दी निर्माण गर्नेजस्ता कामहरुलाई यस वर्ष अगाडि बढाउने योजना छ ।























