काठमाडौँ- प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । सुदूरपश्चिम प्रदेशले हासिल गरेको यो पहिलो जित हो ।टस जिती पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले ९.५ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
सुदूरपश्चिम प्रदेशका लागि ओपनर रेवती धामीले अविजित १७ रन बनाइन् । उनले २५ बलमा दुई चौका पनि प्रहार गरिन् । अर्की ओपनर रुबी पोद्दारले १४ रन जोडिन् । उनले २२ बलमा एक चौका हिर्काइन् ।
तेस्रो नम्बरकी ब्याटर कविता जोशीले टोलीका लागि अविजित २४ रनको योगदान गरिन् । उनले केवल १२ बलमा एक छक्का र तीन चौका प्रहार गरेकी थिइन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा १७ रन पाएको थियो । लुम्बनीकी बलर मधु डीसीले एक विकेट लिइन् ।













