राजविराज- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आज निधन भएको छ।
लामो समयदेखि बिरामी रहेका रायको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत राजेशकुमार झाले जानकारी दिए।
वडा सदस्य रायको ७० वर्षको उमेरमा निधन भएकोप्रति गहिरो दुःख प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका हुन्।
न्यायिक समितिमा रही निजले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै अध्यक्ष मण्डलले शोक विज्ञप्ति जारी गरी रायको निधनले अपूरणीय क्षति भएको बताए। गाउँपालिका तथा मातहतका कार्यालय ९अति आवश्यक सेवाबाहेक० बुधबार बन्द रहने गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ।
दिवङ्गत रायको दुई छोरा, दुई छोरी र श्रीमती छन्। दुवै छोरा विदेशमा रहेको र आएपछि मात्रै सद्गत गरिने वडा नं ५ का वडाध्यक्ष ललनप्रसाद राउतले बताए। रासस
















