धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका छन्। प्रदेश प्रमुख नाजिर मियाँलाई आइतबार अपराह्न भेटेर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। चौधरी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका हुन्। यसअघि नाउपाकै सांसद लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। चौधरी नाउपा संरक्षक रेशम चौधरीनिकट छन्।
लक्ष्मणकिशोरले नेपाली कांग्रेससहित दलहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् भने कैलाशलाई संघीय सत्ता गठबन्धनको साथ रहेको छ। नाउपाभित्र अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरी पक्षबीच मतभेद हुँदा दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको साथ चाहिन्छ।
















