कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका १० भुडामा विभिन्न घर तथा पसलमा चोरी भएको छ । शनिबार राति अज्ञात व्यक्तिहरुको समूहले घर र पसलबाट गरगहना, नगद रकम र पसलमा राखिएका सामान चोरी गरेर लगेका हुन् ।
स्थानीय पसल सञ्चालकहरुका अनुसार कृमलाल चौधरीको घरबाट सुनको तिलहरी र मोवाईल गरी रु ५० हजारको सामान चोरी गरेका छन् । यसैगरी, साइकल पसल सञ्चालक लौटुराम चौधरीको पसलबाट दुई हजार पाँच सय नगद, खडक सिंह ठगुन्नाको पसलबाट केही नगदसहित सामान चोरी भएको छ ।
यसैगरि सुन्दरलाल चौधरीको घरबाट सुनको तिलहरी र नाकमा लगाउने फुली, लाल बहादुर शाहीको घरबाट नगद १९ हजार, दुई वटा मोवाईल र रामकुमार चौधरीको घरबाट एक सेट मोवाल चोरी भएको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपक पातलीले चोरीमा संलग्नहरुको खोजी कार्य भैरहेको बताए ।













