अशोक ज्वाला
धनगढी- दिनहुँ वैदेशिक रोजगारीका लागि भारतदेखि तेस्रो मुलुकमा जाने युवाको संख्या बढ्दै गइरहेका बेला धनगढीका एक युवा भने आफ्नै देशमा मेहनत गर्न सके कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरणीय पात्र बन्न पुगेका छन् । ३ वर्ष मलेसिया काम गरि घर फर्केका धनगढी उपमहानगरपालिका–१ मनकामना टोलका प्रेम मगराती पुर्ख्यौली पेसामा जमेका छन ।
उनले सो पेसाबाट राम्रो कमाइ गर्न थालेका छन । उनको पुख्र्यौली पेसा हो जुता सिलाउने । उनले सोही पेसाबाट मासिक एक लाख ५० हजार रुपैयाँ कमाउने गरेको बताए । ‘मेहनत गरे आफ्नै देशमा कमाउन सकिन्छ’, उनले भने ‘विदेशमा पसिना बगाउनु भन्दा आफ्नै देशमा बगाउन राम्रो हुन्छ ।’ आर्थिक अवस्था कमजोर हुँदा कमाउन भनी २०६९ सालमा पढाई छोडेर ३ वर्ष मलेसियामा रोजगारी गर्न पुगे । महिनाको ५५ हजार कमाउँथे तर वदेशिक रोजगारी गरेको कमाईले केही हुँदो रहेनछ दुखेसो गर्दै उनले भने काम छोडेर २०७२ तिर नेपाल आए ।
‘सानै देखिको जुत्ता सिलाउने सीप थियो’ उनले भने ‘पढ्न नसके पनि आफ्नै देशमा सीपलाई सदुपयोग गर्नुपर्छ भन्ने लाग्यो ।’ सोही अनुसार पुर्खाले गरेको काम अँगाल्न पुगेको उनले बताए ।
धनगढी– ५ स्थित खप्तड सुज सेन्टरको प्रोप्राइटर भएर काम गर्न सुरु गरको उनले बताए । पुर्ख्यौली घर डोटी रहेका उनका परिवार बसाई सरी २०१२ सालतिर तराई झरेका हुन् । उतीबेला देखि बाजेको काम जुत्ता सिलाइ नै थियो । ‘बाजेको मृत्युपछि बुबाले सो पेसा अगाल्नु भयो २०७४ सालमा बुबाको मृत्युपछि सो काम आफुले समाल्दै आएको छु’, उनले बताए ।

‘पुर्खाले अँगालेको काम छोड्नु हुन्न’ उनले भने ‘अझ यस्लाई नयाँ ढंगबाट आधुनिकीकरण गर्दै लग्नु पर्छ भन्ने सोचियो, अहिले आधुनिकीकरण गरेर पनि लगेको छु ।’ ‘कामबाट सन्तुष्ट भईएको छ । महिनाको जुत्ता बिक्रीबाट ४ लाख ५० हजार हुन्छ । मासिक १ हजार २ सय जोडी जुत्ता उत्पादन गर्छौँ’, उनले भने ६ सय जोडी जुत्ता बिक्री हुन्छ ।’ बच्चाको जुत्ता ५ सयदेखि ६ सय मुल्य निर्धारण गरिएको छ । ठूला मानिसका लागि पार्टी सुज जुत्तालाई एक हजारदेखि दुर्इ हजार पाँच सय मुल्य पर्छ’,उनले भने ।
व्यवसायबाट ८ जना परिवारको पालनपोषण पढाइलेखाइ खर्च पुग्नुका साथै बचत पनि हुने गरेको उनले बताए । पसलमा ५ जनाले रोजगारी पाएका छन । ‘कच्चा पदार्थ बाहिरबाट ल्याउनु पर्छ’, उनले भने स्वदेशमै पाउने भए जुताको मुल्य सस्तो हुने थियो ।’ ‘खुल्ला सिमानाकाका कारण नेपालीहरु भारतीय बजारबाट महङ्गोमा जुत्ता किनेर आउँछन तर यहाँको जुत्ता सस्तो टिकाउ बलियो भरपर्दो भएपनि किन्दैनन्’ उनले भने ‘विदेशी जुत्ताका कारण घरेलु उत्पादन खेर गइरहेको छ । उनले केही वर्ष यता चुनौतीको सामना गरिरहेको बताउँदै स्थानीय र प्रदेश सरकारले घरेलु उत्पादनलाई प्रोत्साहित गर्न आवश्यक रहेको बताए ।

खप्तड सुज सेन्टरले जुनसुकै मोडलका जुत्ता बनाउने गरेको उनले बताए । ‘हामी कहाँ छालाको जुत्ता, स्पोर्ट सुज,आर्मी ,प्रहरी,स्कुल र अफिसियल जुत्ता निर्माण हुने गरेको छ’उनले भने ‘दुई महिना बाहेक जुत्ताको व्यापार सबै महिना चल्छ ।













