धनगढी- कैलाली उद्योग वाणिज्य संघको टोलीले बुधवार उद्योग संगठन माेरङसंग भेटघाट तथा छलफल गरेको छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको भ्रमण टोलीले विराटनगर पुगेर त्यहाँका उद्योग संगठन माेरङका पदाधिकारीसहित उद्योगी व्यवसायीसंग भेटघाट तथा छलफल गरेको हो ।
त्यसक्रममा उद्योग संगठन माेरङका अध्यक्ष सुयश प्याकुरेलले उद्योग व्यवसायको समग्र विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । उनले आफू पनि सुदूरपश्चिममा लगानी गर्न तयार रहेको बताए । उनले उद्योगी व्यवसायका समस्यालाई सरकार कहिले पनि सम्बोधन गर्न तयार नरहेको दुखेसो गरे । उद्योग व्यवसायीहरूले खुला सीमानाका कारण नेपालमा व्यवसाय गर्न समस्या रहेकाे उनको भनाइ थियो । जबसम्म सीमा विवादकाे समस्या समाधान हुँदैन तबसम्म आफूहरूका समस्या यथावत रहने उद्योगी व्यवसायीहररूको धारणा थियो ।
सोही अवसरमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले उद्योग संगठन माेरङलाई सुदूरपश्चिम भ्रमणको निम्तो दिएका छन्। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरको नेतृत्वमा ११ सदस्यीय टोली देशका विभिन्न जिल्लाको भ्रमण अवलोकनमा निस्केको छ ।














