वास्तवमा लोकतन्त्र जनताको नैसर्गिक हक र अधिकारको सुनिश्चितता, संरक्षण, प्रर्वदन र सदुपयोगका लागि प्रयोगमा आएको उत्कृष्ट विचार पद्धतिको मन्थन र सुद्धिकरण गर्ने अथाह समुन्द्र जस्तै एक विधा हो । यस पद्धति वा विधामा मात्र जनताका नैसर्गिक समान हक र अधिकारको लागि स्वतन्त्ररुपमा फरक थरीका विचार अभिव्यक्त गर्न पाइन्छ । प्रजातन्त्र लोकतन्त्रको पर्यायवाचीको रुपमा व्याख्या गरिएता पनि लोकतन्त्र भित्र प्रजातन्त्र जनताको स्वन्त्रतता र नैसर्गिक हक अधिकारलाई निर्वादरुपमा प्रयोग गर्न पाउने उत्कृष्ट विचार पद्धति मानिन्छ ।
त्यसकारण लोकतन्त्र,प्रजातन्त्र,जनताको हक अधिकार,स्वतन्त्रता र विधिको शासन भन्नु नै प्राकृतिक दैवी नियमको निःशुल्क उपहार भन्न सकिन्छ । किनभने जसरी प्राकृतिक दैवी नियमद्वारा जनतालाई निःशुल्क उपहारको रुपमा हावा,पानी,वनजंगल र भूमि प्रदान गर्दछ त्यसैगरी संघीय गणतन्त्र र समावेशी प्रजातन्त्र वा लोकतन्त्रमा जनताको स्वतन्त्रता र नैसर्गिक हक,अधिकारलाई निशर्त रुपमा जनतालाई विधिको शासन वा दैवी स्वतन्त्रता प्रदान गर्ने एक पद्धति वा विधा मानिन्छ ।
लोकतन्त्र विधिको शासन पद्धतिमा जनताका प्रतिनिधिले प्राकृतिक दैवी विधाताको निमित्तकाे रुपमा शासन संचालन गर्दछन् । विधिको यस्तो शासन पद्धतिमा यदि जनताका जनप्रतिनिधिहरुले जनताको स्वतन्त्रता,नैसर्गिक हक र अधिकार अनि उनीहरुको जीउधनको संरक्षण गर्न सके भने तिनका विरुद्ध संगठित भएर कार्वाही गर्ने सम्पूर्ण अधिकार जनतालाई प्रदान गरिएको स्वतन्त्र र न्यायोचित विधि लोकतन्त्र हो ।
लोकतन्त्रमा मात्र स्वतन्त्रता र समान अधिकारको मुल्य र मान्यतालाई सर्वोपरी ठानिएको हुन्छ । विश्वपरिवेश संगै नेपालको हाल प्रचलित संघात्मक गणतन्त्र र समावेशी प्रजातन्त्र वा लोकतन्त्र विधिको शासन व्यवस्था र प्राकृतिक दैवी नियम प्राप्तीका खातिर ऐतिहासिक कालखण्डमा घटेका घट्ना, पर्व र काण्डहरुबाट जनताले गरेको अनुभवको प्रत्यक्ष प्रतिफल प्राप्त गर्न नपाउँदै व्यवस्था परिवर्तन गर्ने खेलमा लागिरह्यौँ भने नत यो राष्ट्रको उन्नति वा प्रगति नत जनताको भलो हुने छ । मात्र यो देश अन्तरद्वन्द्वको चपेटामा वा दलदलमा फसेर राष्ट्रिय संकट नआउन सक्ला भनेर भन्न सकिदैन । त्यसैले, मित्रहरु यदि राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक प्रजातन्त्र,समावेशिता र समान अधिकारको सर्वोच्चता ग्रहण गरेको नयाँ परिवर्तनकारी,अग्रगामी व्यवस्था वा पद्धति जसले स्वस्फुर्त रुपमा संघीय गणतन्त्र र समावेशी लोकतन्त्रवादीहरुलाई झुक्याउन सक्ने क्षमता राख्दछ भने यस्ता आन्दोलन औचित्य र अर्थपूर्ण मर्यादा,ईज्जत र सम्मान लाग्छ तर व्यवस्था परिवर्तनको निहुँमा एकतन्त्रीय पश्चगामी हुकुमी शासनको स्थापना गर्न खोजिन्छ भने यस्ता नालायकहरुलाई यो देशको ईतिहास र अब आउने नयाँ पुस्ताले हिजो, आज र भोलि पनि धिक्कार्ने कुरामा सायद कसैको दुईमत छैन होला ।
अन्तमा, आदरणीय आन्दोलनकारी मित्रहरुले यो बुझ्न जरुरी छ कि वर्तमान परिस्थिति, व्यवस्था परिवर्तन गर्ने समय होइन । यो समय त विगतका घटना,पर्व,काण्ड र जनआन्दोलनको इतिहासबाट पाठ सिक्दै वर्तमान परिस्थितिमा खुट्टा टेकेर भविष्यका सन्ततिहरुको लागि समृद्ध नेपालको सबै मिलेर नयाँ योजना बनाउनको अर्काे कुनै विकल्प छैन ।













