वद्रीप्रकाश ओझा
काठमाडौंमा दुई साता अघि एउटा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरियो । यातायत क्षेत्रसँग आवद्ध इन्जिनियरहरुको तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलनले स्पष्ट सन्देश दिएको छ—नेपालको यातायात प्रणाली अब सुरक्षित, दिगो, कुशल र प्रत्याशित बन्नैपर्छ।
यातायात केवल सवारी होइन, यो आर्थिक विकासको मेरुदण्ड हो। यसले रोजगारी सिर्जना गर्छ, ग्रामीण–शहरी एकता कायम राख्छ, व्यापार प्रवर्द्धन गर्छ र क्षेत्रीय सम्पर्क बढाउँछ। तर, आज हामी ट्राफिक जाम, वायु प्रदूषण र सडक दुर्घटनाको चपेटामा परिरहेका छौं। समाधानका लागि दीर्घकालीन सोच आवश्यक छ।
विश्वभर हरेक वर्ष करिब ११।९ लाख मानिस सडक दुर्घटनामा ज्यान गुमाउँछन्, जसबाट विश्वका मुलुकहरुको कूल गार्हस्थ उत्पादन ९ जीडीपीको तीन प्रतिशत बराबरको आर्थिक क्षति हुने गरेको छ। नेपालमा मात्र हरेक वर्ष २,६०० भन्दा बढी मानिस सडक दुर्घटनाका कारण मारिन्छन् ।
सडक दुर्घटनाबाट मुलुकले लगभग २।५ जीडीपी बराबर आर्थिक क्षति भोग्न बाध्य हुन्छ। विशेषगरी युवावर्ग र श्रमिक जनसंख्यामा पर्ने प्रभावले सडक सुरक्षालाई स्वास्थ्य र आर्थिक विकाससँग प्रत्यक्ष जोड्छ।
सम्मेलनबाट पारित संकल्पहरूले समावेशी र जलवायु प्रतिरोधी यातायातको खाँचो औंल्याएका छन्। पहाडी भूगोल र दूरदराजका बस्तीहरूमा पूर्वाधार विकासका लागि स्थानीय ज्ञान, तथ्यांकमा आधारित योजना, र समुदायको सहभागिता अनिवार्य छन्।
जलवायु जोखिम मूल्यांकनलाई सडक योजनामा समावेश गर्नु, स्मार्ट प्रविधिको प्रयोग गर्दै सडक अवस्थाको अनुगमन गर्नु, र दुर्घटना विवरण डिजिटल प्रणालीबाट संकलन गर्नु जस्ता पहललाई अब प्राथमिकता दिनुपर्छ। यी कार्यहरूका लागि संघीय, प्रादेशिक र स्थानीय तहबीचको सहकार्य र पर्याप्त बजेटको सुनिश्चितता जरुरी छ।
अन्ततः, सुरक्षित सडकले ज्यान जोगाउँछ, यात्रा सजिलो बनाउँछ, र दिगो भविष्यको मार्गचित्र कोर्छ। अब नीति निर्माताले यी संकल्पहरूलाई कार्यान्वयनमा ल्याउने साहसिक कदम चाल्ने बेला भएको छ।
तीन दिन चलेको सम्मेलनमा विभिन्न १६ देशका ४५ अनुसन्धताकर्ताहरुले अनुसन्धानात्मक लेखहरु प्रस्तुत गरेका थिए । सम्मेल नेपाल यातायात इन्जिनियरहरुको छाता संगठन (सोटेन) ले आयोजना गरेको थियो । सम्मेलनको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गरेका थिए भने समापन राष्ट्रिययोजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले गरेका थिए । कार्यक्रममा सडक यातायत तथा शहरी योजनासँग सम्बन्धित विभिन्न निकायका पमूखहरु पनि सहभागी थिए । कार्यक्रम अप्रिल ११ देखि १३ सम्म याक एन्ड यति होटलमा आयोजना गरिएको थियो ।
लेखक नेपाली किसानको सिक्ने क्षमता विषयमा पोस्टडक्टरल अनुसन्धानमा संलग्न छन् । उनी सडक सुरक्षा अभिवृद्धिका लागि सडक प्रयोगकर्तालाई कसरी सचेत पार्न सकिन्छ भन्ने विषयमा नेपाल सरकारलाई परामर्श दिने कार्यमा पनि संलग्न छन्। प्रतिक्रियाका लागि इमेल :[email protected])
सुरक्षित र दिगो यातायात : नेपालको पूर्वाधार विकासमा नयाँ दृष्टिकोण
सुरक्षित र दिगो यातायात : नेपालको पूर्वाधार विकासमा नयाँ दृष्टिकोण
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













