बैतडी – जिल्ला सुरक्षा समितिको आयोजनामा बैतडीमा पहिलोपटक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। दशैँ तथा तिहारको उपलक्ष्यमा घटस्थापनादेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो। प्रतियोगितामा महेशप्रसाद भट्ट र हरिष भण्डारीको जोडी प्रथम भएको छ। प्रथम जोडीले नगद १५ हजारसहित मेडल र प्रमाण पत्र हात पारेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।
यस्तै गंगादत्त पन्त र अंकित जोशीको जोडी दोस्रो भएको छ। उक्त जोडीले नगद १० हजारसहित मेडल र प्रमाण पत्र हात पार्यो।जगन्नाथ ब्याडमिन्टन हलमा सम्पन्न प्रतियोगितामा आनन्दसिंह थापा र वीरबहादुर खाती तथा दिनेश ठगुन्ना र प्रेम बोगटीको टीम तेस्रो भएको छ। तेस्रो टीमले ५र५ हजारका दरले नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगिताको म्यान अफ दि म्याच हरिष भण्डारी भए भने उदीयमान खेलाडी प्रवीण भट्ट भए। उनीहरुले जनही २ हजार ५ सय पुरस्कार पाए। यस्तै ६२ वर्षीय सरप ठगुन्ना र ६५ वर्षीय नरेश पौडेललाई भेट्रान खेलाडीको रुपमा सम्मानसमेत गरिएको छ।ब्याडमिन्टन प्रतियोगितामा विजेता, उपविजेतालगायतका खेलाडीहरुलाई दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी र प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरे।
प्रतियोगिता सञ्चालनका लागि नागार्जुन निर्माण सेवाले विशेष सहयोग गरेको बताइएको छ। जिल्लामा पहिलो पटक जिल्ला सुरक्षा समितिको अगुवाईमा ब्याडमिन्टन हलसमेत निर्माण भएको छ।सोही हलमा प्रतियोगिता सञ्चालन गरिएको बताइएको छ। प्रतियोगितामा १७ टीमका ३४ खेलाडीको सहभागिता रहेको थियो।














