धनगढी । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त कैलालीको गौरीगङ्गा नगरपालिकालाई धनगढीस्थित चैतन्य पाठशालाले एक थान प्रिन्टर सहयोग गरेको छ।
आन्दोलनका क्रममा आगजनीबाट नगरपालिका क्षतिग्रस्त बनेपछि तत्कालीन राहत तथा पुनर्निर्माणमा हातेमालो गर्ने उद्देश्यले विद्यालयले सहयोग गरेको हो ।
राहत सामग्री र सहयोग रकम विद्यालयका प्रतिनिधिहरूले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गरेका हुन ।कार्यक्रममा चैतन्य ग्रुप अफ कम्पनीका सिइओ गणेशप्रसाद जोशी,चैतन्य पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरी,सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दूत दीपक उपाध्याय नेपालको सहभागिता रहेको थियो ।
चैतन्य पाठशालाले सधैँ सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको र विद्यार्थीलाई केवल पाठ्यपुस्तक र परीक्षा केन्द्रित ज्ञान दिने मात्र नभइ समाजमा आवश्यक परेका बेला योगदान गर्न प्रेरित गर्दै आएकोमा आफूलाई खुसी लागेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।
उनले भने, “आन्दोलनको कारण हाम्रो नगरपालिकामा देखिएका क्षति तत्काल मर्मत र व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ । यस्तो संवेदनशील समयमा चैतन्य पाठशालाले गरेको सहयोगले नगरपालिकालाई राहत मात्र दिएको छैन, यो समाजलाई जोड्ने एउटा सकारात्मक सन्देश पनि हो।”
चैतन्य पाठशालाले यसअघि पनि विभिन्न विपद्, महामारी तथा सामाजिक अभियानहरूमा सहयोग गर्दै आएको छ । विद्यालय प्रशासनले अबको दिनमा पनि जहाँ आवश्यकता पर्छ, त्यहाँ योगदान गर्ने प्रतिबद्धता जनाएको छ।























