धनगढी । शिवनगरस्थित चैतन्य पाठशालामा यही मंसिर ६ गते (शनिबार) बिहान ८ बजेबाट सुरु हुने भव्य बहुआयामिक शैक्षिक महोत्सवको सबै तयारी पूरा गरिएको विद्यालयले बताएको छ।
जिल्ला स्तरिय SCRABBLE Competition, MUN Debate तथा QUEST Nepal सँगको सहकार्यमा आयोजना हुने १०औं SQC Convention of Sudur SQC Alliance महोत्सवको मुख्य आकर्षण हुने विद्यालयले जनाएको छ।
तीन मुख्य शैक्षिक गतिविधिहरू समेटिएको यस महोत्सवमा विद्यार्थीहरूको भाषिक दक्षता, विश्लेषण क्षमता, कूटनीतिक नेतृत्व, समस्या समाधान सीप तथा गुणस्तर सुधार संस्कार विकास गर्ने उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार संचालित SCRABBLE प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्। त्यसैगरी, MUN Debate मार्फत कूटनीतिक संवाद, अन्तर्राष्ट्रिय प्रक्रियाको अभ्यास, वार्ता तथा प्रस्ताव निर्माण जस्ता क्षमतामा विद्यार्थीहरूलाई प्रशिक्षित गराइनेछ।
यसैगरी, १०औं Sudur SQC Alliance Convention अन्तर्गत विद्यार्थी–केन्द्रित केस स्टडी, समस्या पहिचान, नवप्रवर्तन तथा समाधान प्रस्तुति जस्ता कार्यक्रमहरू गरिनेछ। यो संस्करणले SQC यात्रालाई एकीकृत रूपमा प्रस्तुत गर्दै क्षेत्रीय गुणस्तरीय शिक्षा प्रवर्द्धनमा योगदान गर्ने विद्यालयको विश्वास छ।
कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, शिक्षक, विद्यार्थी टोली, SQC संयोजक, Scrabble Club Nepal का प्रतिनिधि तथा MUN निर्णायकहरूको उपस्थितिको अपेक्षा गरिएको छ। औपचारिक उद्घाटन कार्यक्रम दिउँसो १ बजे हुने छ।
विद्यालयले सम्पूर्ण सञ्चार माध्यमहरूलाई कार्यक्रममा उपस्थित भई शैक्षिक प्रवर्द्धनमा सहयोग पुर्याउन अनुरोध गरेको छ। सहभागी विद्यार्थीहरूका लागि ट्रफी, प्रमाण–पत्र, सम्मान तथा भोजनको व्यवस्था गरिएको विद्यालयले जनाएको छ।













