धनगढी । कैलालीको धनगढीस्थित चैतन्य पाठशालाले यस वर्ष पनि कक्षा ११ मा ४५ जनालाई पूर्ण छात्रवृत्ति दिने भएकोे छ ।
आज पत्रकार सम्मेलन गर्दै पाठशालाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका बारेमा जानकारी दिएको हो ।
स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको र यस चालु शैक्षिकसत्रमा प्रतिभाशाली तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको निरन्तरता स्वरुप कक्षा ११ मा छात्रवृत्ति आवेदन खुला गरिएको पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले बताए ।
उनले कक्षा ११ मा यस वर्ष प्रतिष्पर्धात्मक परीक्षाका आधारमा २५ जनालाई पूर्ण छात्रवृत्ति,सुदूरपश्चि प्रदेशका प्रत्येक जिल्लाबाट २ जना विद्यार्थीलाई पूर्ण छात्रवृति,अपी एजुकेशन प्रोजेक्ट अन्तरगत एक÷एक जना छात्र÷छात्रालाई व्यवस्थापन संकायमा आवाशीय सुविधासहित पूर्ण छात्रवृत्ति प्रदान गरिने जानकारी दिए ।
एसईईको नतिजा,प्रवेश परीक्षा तथा अन्तरवार्ताका आधारमा छात्रवृत्ति प्रदान गरिने अध्यक्ष जोशीले बताए ।
अध्यक्ष जोशीका अनुसार आज (वैशाख २९ गते) बाट छात्रवृत्ति आवेदन फाराम वितरण सुरु भएको,आवेदन दिने अन्तिम मिति आगामी जेठ ८ गतेसम्म रहेको तथा आगामी जेठ ९ गते छात्रवृत्तिको परीक्षा सञ्चालन हुनेछ ।
चैतन्य पाठशाला सामाजिक उत्तरदायित्व बोकेको शैक्षिक संस्था भएकाले हरेक शैक्षिक सत्रमा यस्ता विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए ।
आवेदन दिनका लागि निवेदन पत्र,जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी,एसईई नतिजा÷मार्कसिट (उपलब्ध भए),सम्बन्धित वर्ग खुल्ने प्रमाणपत्र(सम्बन्धित हकमा) तथा पासपोर्ट साइज फोटो दुई प्रति आश्यक पर्ने पाठशालाले जनाएको छ ।













