धनगढी । विश्वप्रसिद्ध इलेक्ट्रिक सवारीसाधन ब्रान्ड बिवाइडीको धनगढीस्थित आधिकारिक डिलर मोटोकर्पले धनगढीमा अत्याधुनिक शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
धनगढी उपमहानगरपालिका–३, बोराडाँडीस्थित नयाँ शोरुमको शुक्रबार आयोजित एक समारोहबीच नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इन्कका सेल्स एण्ड बिजिनेस हेड आशुतोष गौतमले उद्घाटन गरे ।
शोरुम सञ्चालनसँगै सुदूरपश्चिम प्रदेशका ग्राहकहरूले विश्वस्तरीय इलेक्ट्रिक सवारीसाधनका साथै बिक्रीपछिका सेवा (आफ्टर–सेल्स सर्भिस) पनि स्थानीयस्तरमै सहज रूपमा प्राप्त गर्न सक्ने जनाइएको छ ।
मोटोकर्पका प्रतिनिधि पुष्कर ओझाले नयाँ शोरुम तथा सर्भिस सेन्टरको सञ्चालनले धनगढीसहित समग्र सुदूरपश्चिममा वातावरणमैत्री यातायातको विस्तार, दिगो प्रविधिको प्रवर्द्धन तथा ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।













