धनगढी । २१३औँ भानु जयन्तीको अवसरमा चैतन्य पाठशालामा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता–२०८३ सम्पन्न भएको छ ।
कैलाली र कञ्चनपुरका १६ विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा चैतन्य पाठशालाका शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरी सभापति रहेका थिए भने सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तथा साहित्यकार रामलाल जोशी प्रमुख अतिथि रहेका थिए ।
१६ विद्यालयका २९ जना विद्यार्थी सहभागिता रहेको कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । अन्तर विद्यालय कविता प्रतियोगितामा चैतन्य पाठशालाकी छात्रा सन्ध्या अवस्थी प्रथम, डिस्कोभरि स्कुलबाट शिशिर ओझा द्वितीय, माइल स्टोन स्कुलकी अनुजा चौधरी तृतीय र पञ्चोदय माविकी अञ्जली धानुकले सान्त्वना स्थान प्राप्त गरिन ।
प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना स्थान हात पार्नेलाई क्रमशः ५१०५, ३५०५,२००५,१००५ रुपैयाँ र प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको थियो। साथै, सहभागिता जनाएका सम्पूर्ण २९ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक कटकबहादुर सिंहले नेपाली भाषा र साहित्य हाम्रो राष्ट्रिय सम्पदा भएको भन्दै यसको संरक्षण र प्रवर्धन सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे ।
उनले यस्ता प्रतियोगिताहरूले विद्यार्थीमा भाषिक क्षमता विकास र साहित्यिक अभिरुची बढाउने भएकाले चैतन्यले यस्ता कार्यक्रमलाई अझ आयोजना गर्दै जाने बताए ।
आँखाले नदेखेको कुरा समेत साहित्यले प्रकाश पार्ने कार्यक्रममा प्रमुख अतिथि साहित्यकार रामलाल जोशीको भनाई रहेको थियो ।
कार्यक्रममा धन्यावाद ज्ञापन गर्दै पाठशालाका शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरीले आज पाठशालाले कवि भानुभक्त आचार्यको योगदानको कदर र उहाँको बिचारको उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
भानुभक्तको देश प्रेम र समाज प्रेमको बिचार र बाटोमा हिन्न सकेमा देशलाई समेत योगदान पुग्ने उनले बताए ।













