धनगढी । नसर्ने रोगको प्रकोपका बारेमा चासो बढ्दै गएको छ । पछिल्लो समय नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गएको पाइएको छ ।
कैलालीमा पनि नसर्ने रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा सर्नेभन्दा नसर्ने रोगको प्रकोप बढी रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए । उनले जिल्लामा १ लाख २३ हजार ९८० जनामा उक्त रक्तचाप भएको अनुमान रहेकोमा ४० देखि ४५ हजारले मात्रै स्वास्थ्य चेकचाँज तथा उपचार सेवा लिने गरेको बताए ।
त्यस्तै,३० हजारमा मधुमेह र ४८ हजारमा फोक्सो सम्बन्धी समस्या रहेको तथ्यांक रहेको उनले जानकारी दिए ।
उनले भने ‘कतिपयले रोगका बारेमा जानकारी नपाएर रोग सहेर बसेका छन् । कतिपयले रोग छ भन्न थाहा पाएर पनि नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सेवा लिने गरेका छैनन् ।’
उनले नसर्ने रोग भित्र पनि चार प्रकारका रोगको प्रकोप बढी रहेको बताए । उनले मुटुसम्बन्धी रोग,क्यान्सर,मधुमेह,श्वासप्रश्वास सम्बन्धी दीर्घ रोगको प्रकोप बढी रहेको बताए ।
यी रोगहरु अल्कोहलको प्रयोग,अस्तव्यस्त खानपान,शारीरिक निष्कृयता तथा सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको बताए । यी रोगबाट बच्न धुम्रपान मध्यपानको जीवनशैलीको व्यवस्थापन,शारीरिक सक्रियता वृद्धि,खानपानमा सुधार गर्नुपर्ने उनले बताए । उनले नेपालमा मृत्यु हुने १०० जनामध्ये ७१ जनाको नसर्ने रोगका कारण मृत्यु हुने गरेको जानकारी दिए ।
नसर्ने रोगको पहिचान तथा उपचारका लागि तीनै तहका सरकारले विभिन्न कार्यक्रम पनि सञ्चालन गर्ने गरेको उनले बताए । त्यस्तै,महिलाको पाठेघरको मुखको क्यान्सर,स्तन क्यान्सरको स्क्रिनिङ गर्ने तथा पछिल्लो पाठेघरको मुखको क्यान्सरविरुद्ध सरकारले एचपीभी खोप लगाउँदै आएको बताए । उनले नियमित स्वास्थ्य जाँच गर्न,शारीरिक सक्रियता बढाउन तथा खानपानमा सुधार ल्याउन सबैलाई आग्रह गरे ।














