धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले सरकार विस्तार गर्न सकेका छैनन् । सरकारले पूर्णता नपाउँदा प्रदेशमा बजेट ल्याउन अझै ढिला हुने भएको छ ।
मुख्यमन्त्री भट्टले शपथ लिएको दिन शुक्रबार नेकपा (एमाले) बाट ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका थिए । तर सरकारको नेतृत्वकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो भागको मन्त्री टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन ।
नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दिएको सूची अनुसार सन्तोष शर्मा थापा सामाजिक विकासमन्त्री, चक्रबहादुर मल्ल आर्थिक मामिलामन्त्री र दमनबहादुर भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्री नियुक्त भएका हुन ।
उनीहरूले शुक्रबार नै शपथ लिएर पदभार ग्रहण गरेका थिए । एमालेका मन्त्रीहरूको उपस्थितिमै मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशका अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको छ ।
सरकारलाई पूर्णता दिन भौतिक पूर्वाधार विकास, उद्योग पर्यटन वन तथा वातावरण र आन्तरिक मामिला मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ ।
साविक माओवादी केन्द्र, नाउपा र एकीकृत समाजवादीबाट नेकपामा आएका सांसदहरूको व्यवस्थापन मुख्य चुनौती बनेको छ । आकांक्षी धेरै भएपछि सहमति जुट्न सकेको छैन ।
छलफल अनुसार साविक नाउपालाई राज्यमन्त्रीसहित १ मन्त्रालय, माओवादीलाई राज्यमन्त्रीसहित १ मन्त्रालय र एकीकृत समाजवादीलाई १ मन्त्रालय दिने तयारी छ ।
नेकपा सुदूरपश्चिमका इन्चार्ज भानुभक्त जोशीले दुई-तीन दिनभित्र सरकार विस्तार हुने दाबी गरेका छन् । प्रदेशबाट नाम केन्द्रमा सिफारिस भएर टुंगो लागेपछि मात्र विस्तार हुने उनले बताए ।
यसैबीच सुदूरपश्चिम करिब एक महिनादेखि आंशिक बजेट शून्यतामा छ । चालु आर्थिक वर्षको बजेट तत्काल ल्याउनुपर्ने दबाब छ ।
तर मन्त्री छनोट र सत्ता साझेदार व्यवस्थापनमै सरकार अल्झिँदा मन्त्रिपरिषद् विस्तारसँगै बजेट ल्याउन पनि ढिलाइ हुने देखिएको छ ।














