धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले सार्वजनिक सेवा प्रवाह चुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छ्न ।
आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका कर्मचारीहरुबाट ब्रिफिङ लिने क्रममा उनले सो निर्देशन दिएका हुन । मुख्यमन्त्री कार्यालयले सबै मन्त्रालयसँगको सहजीकरण र समन्वयसँगै सेवा प्रवाहलाई पनि चुस्त बनाउनुपर्ने उनको भनाइ थियो ।
हाम्रो प्रदेश हामीले नै बनाउनुपर्ने भन्दै समय व्यवस्थापनदेखि गुणस्तरीय सेवा दिने सवालमा कुनै कसर बाँकी राख्न नहुने बताए । उनले सुदूरपश्चिममा सम्भावनाको विशाल भण्डार रहेको भन्दै यसलाई समृद्धिमा परिअनत गर्नुपर्ने बताए ।
गरिबी घटाउने शिक्षा र स्वास्थ्यमा सुधार गर्दै रोजगारी सिर्जना गर्ने कार्यभार रहेको भन्दै प्रदेश गौरवका आयोजनाहरुलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउनुपर्ने उनले बताए ।
काम गर्ने सवालमा कुनै लोभ लालचमा नफस्न , फेयर हुन र सुधारका काम थाल्न उनने निर्देशन दिए ।
प्रमुख सचिव बैकुण्ठ आर्यालले कर्मचारीहरुको अवस्थामा, कार्यालयको अवस्था,भएगरेका कामको प्रगति र रहेका समस्याका बारेमा जानकारी गराएका थिए ।
समग्र सुदूरपश्चिममा अहिले भएका कामहरूको प्रगति विवरणका बारेमा समेत उनले जानकारी गराएका थिए ।














